२०८३, भाद्र ८ गते

images

किस्तीमा आएको प्रधानमन्त्री पद पनि त्यागेँ, आन्दोलनलाई घात गर्न सकिनँ’: रवि लामिछाने

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

आइतवार , भाद्र ७, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले परिवर्तनको आन्दोलनलाई घात नगर्न आफूले ‘किस्तीमा आएको’ प्रधानमन्त्री पदसमेत त्यागेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले २१ सिटको दलका रूपमा प्रधानमन्त्री बन्न हस्ताक्षर गर्नुपर्ने प्रस्ताव आए पनि आफूले अस्वीकार गरेको दाबी गरे।

‘म यहाँ गर्वका साथ भन्न सक्छु, हाँसी-हाँसी किस्तीमा आएको प्रधानमन्त्री पदलाई नमस्कार गरेको हो,’ उनले भने, ‘२१ सिटको दलको रूपमा प्रधानमन्त्री बन्नका लागि मेरो हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियो। आन्दोलनलाई घात नगर्न मैले हाँसी-हाँसी अस्वीकार गरेँ।’

लामिछानेले अहिले रास्वपा अरूलाई दोष लगाएर उम्किने अवस्थामा नरहेको बताए। विगतमा आफूहरूले पुराना दल र नेताहरूलाई दोष दिएर आफूलाई अग्लो देखाउन सक्ने अवस्था रहे पनि अहिले त्यस्तो सुविधा नरहेको उनको भनाइ थियो।

‘हिजो हामीले दोष लगाउने कयौँ मानिस थिए, कयौँ नेताहरू थिए। दोषैदोषको चाङमा आफूलाई अग्लो बनाउन सक्थ्यौँ। आज कसलाई दोष लगाउने?’ उनले प्रश्न गरे। उनले रास्वपाका नेता तथा कार्यकर्तालाई विगतको आलोचनामा अल्झिनुभन्दा आगामी ३५ वर्षको योजना बनाउन निर्देशन दिए। ‘अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो, ३५ वर्षको योजना ल्याउनुहोस्,’ लामिछानेले भने।

विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले गरेका सकारात्मक कामलाई समेत स्वीकार गर्दै आगामी पुस्ताको भविष्य निर्माणमा केन्द्रित हुनुपर्ने उनले बताए।

‘हाम्रो कामले लोकतन्त्र कमजोर नहोस्’
लामिछानेले रास्वपा र सरकारका गतिविधिका कारण देशको लोकतन्त्र कमजोर हुन नदिन पार्टी पंक्ति अत्यन्त जिम्मेवार बन्नुपर्ने बताएका छन्। ‘जानेर वा नजानेर हामीले गरेका क्रियाकलापबाट देशको लोकतन्त्र कमजोर नबनोस्। यो हाम्रो पहिलो जिम्मेवारी हो,’ उनले भने।

उनले पछिल्लो समय विभिन्न संस्थाहरू डराएको उल्लेख गर्दै संस्था कमजोर हुँदै गए लोकतन्त्रसमेत संकटमा पर्न सक्ने बताए। लोकतन्त्र एकैपटक ध्वस्त हुने सानो घर नभए पनि त्यसलाई कमजोर पार्ने गतिविधिप्रति सचेत हुनुपर्ने उनको भनाइ थियो।

‘घण्टीमा भोट हाल्ने मतदाता प्रश्न गर्ने अवस्था नआओस्’
रास्वपा सभापति लामिछानेले सरकारका कामकारबाहीबारे घण्टीमा मत दिएका मतदाताले नै प्रश्न उठाउने अवस्था आउन नदिन पार्टी पंक्ति गम्भीर हुनुपर्ने बताए। सरकार गठन भएको पहिलो वर्ष आधार बलियो बनाउने काममा केन्द्रित भएकाले तत्काल सबै परिणाम देखिन नसक्ने उनको दाबी थियो। ‘सरकारले पहिलो वर्ष जग हाल्नुपरेकाले खासै काम देखिँदैनन्। सरकार जग बलियो बनाउन लागेकाले धैर्य गरौँ,’ उनले भने।

सरकारका कामबारे नागरिकले उठाएका प्रश्नको जवाफ पार्टीले दिनुपर्ने भन्दै उनले आफू मधेश यात्रामा जान लागेको र पार्टीका नेताहरूलाई पनि गाउँगाउँ पुग्न निर्देशन दिए। ‘घण्टीमा भोट हालेका मतदाताहरू बोल्ने दिन आयो भने हामीलाई गाह्रो हुन्छ। उनीहरूलाई बोल्ने दिन आउने अवस्था बनाउन नदिऊँ,’ लामिछानेले भने। सरकारले गरेका राम्रा कामलाई विपक्षी दलले छायामा पार्न खोजिरहेको आरोप लगाउँदै उनले पार्टीका नेता-कार्यकर्तालाई त्यसप्रति सचेत रहन आग्रह गरे।

टिकटमा लेनदेन गरे कारबाही
लामिछानेले आगामी स्थानीय निर्वाचनमा उम्मेदवारको टिकट वितरणका नाममा आर्थिक लेनदेन नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई चेतावनी दिएका छन्। टिकट दिने आश्वासनमा आर्थिक लेनदेन गरेको पाइए लिने र दिने दुवै कारबाहीमा पर्ने उनले बताए।

‘उम्मेदवारका नाममा कसैले लेनदेन गरेको भए लिने र दिने दुवै डुब्छन्। पार्टीको नाम बेचेर, विधि बेचेर टिकट दिने काम गर्नेलाई हामी छाड्दैनौँ,’ उनले भने। रास्वपाले पार्टीले निर्माण गरेको ‘क्यान्डिडेट क्लब’बाट मात्रै उम्मेदवार छनोट गरी टिकट वितरण गर्ने उनले स्पष्ट पारे।

लामिछानेले रास्वपाले पाएको राजनीतिक अवसरलाई बदनाम गर्न खोज्ने जोकोहीमाथि कारबाही गरिने चेतावनीसमेत दिए।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!