काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ। ६ दिनका लागि साउन २६ गतेदेखि सुरु भएको एक्स्पोमा पाँच दिनमै १ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन्।
आयोजकका अनुसार शनिबार मात्रै ४२ हजार जनाले एक्स्पो अवलोकन गरेका थिए। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले ६ दिनमा १ लाख ५० हजारले एक्स्पो अवलोकन गर्ने लक्ष्य राखेको थियो।
पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन्।
विशेषगरी विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनले अवलोकनकर्ताको ध्यान तानेका छन्। उपभोक्ताले सवारीसाधनको ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी र पुनर्बिक्री मूल्यबारे चासो राख्दै आएका छन्।
दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता छ। आयोजकका अनुसार एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्ड तथा नयाँ विद्युतीय सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस