अविरल वर्षापछि जाजरकोट र रोल्पामा खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्।
जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा शनिबार साँझ खसेको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा परी भेरी-२, साल्धाराका ५२ वर्षीय केदार कार्की, ६२ वर्षीय रामबहादुर शाही र अन्य एक जनाको मृत्यु भएको जनाइएको छ।
पहिरोमा परी दुई जना अझै बेपत्ता छन्। भेरी-२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक सम्पर्कविहीन छन्। उनीहरूको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
पहिरोमा परी सात जना घाइते भएका छन्। घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि नेपालगन्ज तथा सुर्खेततर्फ पठाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। पहिरोले आठ घरमा समेत क्षति पुर्याएको छ।
यस्तै, रोल्पाको लुङग्री गाउँपालिका-५ धैरेनीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आइतबार बिहान करिब ३ बजे घरमा सुतिरहेका बेला माथिबाट पहिरो खसेर घर पुरिँदा गुरुङको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस