नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्ममा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७.५८ प्रतिशतले बढी हो।
कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो। यस वर्ष सञ्चालन आय ३.१२ प्रतिशतले बढेको हो।
त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँको तुलनामा कुल आय २.६५ प्रतिशतले बढेको हो। नेपाल टेलिकमको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको आम्दानी २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १०.७३ प्रतिशतले बढी हो।
कम्पनीको करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो। यसमा ३४.६६ प्रतिशतको वृद्धि भएको छ। कम्पनीको वार्षिकीकृत प्रति सेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा रहेको छ।
ब्याज आम्दानी घट्दा पनि नाफा बढ्यो
नेपाल टेलिकमका अनुसार ब्याजदर क्रमिक रूपमा घटेका कारण ब्याज आम्दानी ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ। तर, मोबाइल सेवातर्फको आम्दानी ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेपछि कम्पनीको समग्र आम्दानीमा वृद्धि भएको हो।
कम्पनीले बढी लागत लाग्ने र प्रतिफल कम हुने विकट तथा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिइरहेको जनाएको छ। देशभर सञ्चार सेवा विस्तार गर्ने जिम्मेवारीअनुसार त्यस्ता क्षेत्रमा समेत सेवा पुर्याउँदै आएको कम्पनीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस