२०८३, भाद्र १ गते

भक्तपुरबाट सुरु भयो भाटभटेनीको ‘२४/७’ ग्रोसरी सेवा

आइतवार , श्रावण ३१, २०८३

भाटभटेनी सुपरमार्केटले भक्तपुरस्थित आफ्नो स्टोरबाट २४ घण्टा, सातै दिन ग्रोसरी सेवा सुरु गरेको छ। ग्राहकको बदलिँदो किनमेल समयलाई लक्षित गर्दै कम्पनीले प्रारम्भिक चरणमा भक्तपुर स्टोरको किराना विभागमा मात्रै चौबिसै घण्टा सेवा सञ्चालनमा ल्याएको हो।

अन्य विभाग तथा सेवाहरू भने यसअघिकै नियमित समयअनुसार सञ्चालन हुनेछन्। कम्पनीका अनुसार २४ घण्टा सेवा सुरु गर्नुअघि भक्तपुर स्टोरमा एक सातासम्म आन्तरिक परीक्षण गरिएको थियो। सो अवधिमा सामान प्राप्ति, र्‍याक तथा सेल्फमा सामान पुनः भर्ने, मौज्दात व्यवस्थापन र सरसफाइ लगायतका काम चौबिसै घण्टा सञ्चालन गरेर प्रणाली, जनशक्ति तथा व्यवस्थापन प्रक्रियाको परीक्षण गरिएको थियो।

पछिल्लो समय ग्राहकको किनमेल गर्ने समय परम्परागत समयभन्दा फरक हुँदै गएकाले २४ घण्टा ग्रोसरी सेवा सुरु गरिएको कम्पनीले जनाएको छ। विशेषगरी अनियमित कार्यसमयमा काम गर्ने, राति वा बिहानै यात्रा गर्ने, दिनको समयमा किनमेल गर्न नभ्याउने तथा आकस्मिक रूपमा घरायसी सामग्री आवश्यक पर्ने ग्राहकलाई यसबाट सुविधा पुग्ने अपेक्षा गरिएको छ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु दत्त पौडेलले सबै ग्राहकको किनमेल गर्ने समय एउटै नहुने भएकाले २४ घण्टा ग्रोसरी सेवा त्यसैको प्रतिक्रियाका रूपमा सुरु गरिएको बताए। उनका अनुसार यो सुरुवाती पहल भएकाले ग्राहकको प्रतिक्रिया र सञ्चालनको प्रभावकारिता हेरेर आगामी दिनमा सेवा विस्तारबारे निर्णय गरिनेछ।

कम्पनीले यसअघि उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका एक–एक स्टोरलाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको जनाएको थियो। तर अहिले २४/७ सेवा भक्तपुर स्टोरको ग्रोसरी विभागबाट मात्रै सुरु गरिएको छ।

‘सेभ टाइम, सेभ मनी–नाउ २४/७’ नारासहित सुरु गरिएको यो पहलले ग्राहकलाई आफूअनुकूल समयमा दैनिक उपभोग्य सामग्री खरिद गर्ने सुविधा दिने कम्पनीको विश्वास छ।

सन् १९८४ मा स्थापना भएको भाटभटेनीका हाल ६ प्रदेशका १७ सहरमा २७ वटा स्टोर सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। मिनबहादुर गुरुङ र सावित्री गुरुङद्वारा स्थापित भाटभटेनीले आफूलाई नेपालकै ठूलो खुद्रा व्यापारिक सञ्जालका रूपमा प्रस्तुत गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!