२०८३, भाद्र १ गते

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६:

‘मोबिलिटीलाई विलासिता होइन, अर्थतन्त्रको इन्जिन मानौँ’

४८ नयाँ मोडल, पहिलो दिनमै २९ हजारभन्दा बढी अवलोकनकर्ता

मंगलवार , श्रावण २६, २०८३

भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ ले नयाँ सवारीसाधन र प्रविधिको प्रदर्शनसँगै नेपालको अटोमोबाइल क्षेत्रमाथि हुँदै आएको सरकारी नीतिको बहसलाई पनि केन्द्रमा ल्याएको छ।

एक्स्पो उद्घाटनका क्रममा निजी क्षेत्रका प्रमुख प्रतिनिधिहरूले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई केवल विलासिताको वस्तु वा सरकारको राजस्व उठाउने माध्यमका रूपमा हेर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनीहरूले स्थिर नीति, लगानीमैत्री वातावरण र पूर्वाधार विकासबिना अटोमोबाइल क्षेत्रको सम्भावना उपयोग गर्न नसकिने बताएका छन्।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की अध्यक्ष रितु सिंह वैद्यले मोबिलिटीलाई केवल सवारीसाधनको कारोबारका रूपमा हेर्न नहुने बताइन्। उनका अनुसार मोबिलिटी पहुँच, कनेक्टिभिटी, अवसर र राष्ट्रिय विकाससँग प्रत्यक्ष जोडिएको विषय हो। उनले पटक-पटक परिवर्तन हुने सरकारी नीति तथा नियमले व्यवसायीमा अन्योल सिर्जना गर्ने र त्यसले नयाँ लगानीलाई समेत प्रभावित पार्ने बताइन्। निजी क्षेत्र र सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गरेर मात्रै नीति परिवर्तन गर्न उनले सरकारलाई आग्रह गरिन्।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पनि सरकारको अटोमोबाइल क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए। उनले सवारीसाधनलाई केवल विलासिताको वस्तुका रूपमा परिभाषित गर्दै निरन्तर भन्सार बढाउनु उचित नभएको बताए। अटोमोबाइल क्षेत्र मुलुकका लागि अपरिहार्य भइसकेकाले यसलाई आवश्यकताको क्षेत्रका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।

श्रेष्ठले नेपालमा संसारकै उच्च भन्सार दरमध्ये एक लागू रहेको दाबी गर्दै विद्युतीय सवारीसाधनका लागि समेत स्थिर नीति आवश्यक रहेको बताए। निजी क्षेत्र लगानी गर्न तयार भए पनि त्यसका लागि सरकारले उपयुक्त वातावरण निर्माण गर्नुपर्ने उनले बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई ठूलो राजस्व दिने क्षेत्रमध्ये एक भएकाले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भने मोबिलिटीलाई यातायातको विषयमा मात्रै सीमित गर्न नहुने बताए। उनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको तथ्यांक प्रस्तुत गर्दै यो क्षेत्र बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिसहितका क्षेत्रमा प्रत्यक्ष जोडिएको बताए।

‘मोबिलिटीलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा होइन, आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्छ,’ अग्रवालले भने।

४८ नयाँ मोडल, पहिलो दिनमै २९ हजारभन्दा बढी अवलोकनकर्ता

नीतिगत बहससँगै एक्स्पोमा नयाँ सवारीसाधन र प्रविधिले पनि उल्लेख्य आकर्षण थपेको छ। एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडल सार्वजनिक गरेका छन्। पहिलो दिनमै २९ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ। एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा नाइमाले गरेको छ।

IMG_8761-768x576.jpeg

नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ विद्युतीय कार, विद्युतीय स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसम्म एक्स्पोका मुख्य आकर्षण बनेका छन्। बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले समेत सवारी खरिदका लागि विभिन्न अफर तथा सहुलियत कर्जा उपलब्ध गराएका छन्।

गाडीको प्रदर्शनीसँगै लगानी र नीतिको बहस

नाइमाले यसपटक एक्स्पोलाई सवारीसाधन प्रदर्शन र बिक्रीको थलोमा मात्र सीमित गरेको छैन। एक्स्पोमा लगानी, वैदेशिक लगानी, वित्तीय पहुँच, सुरक्षित यातायात र प्रविधिबारे समेत छलफल सुरु भएको छ।

पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट : मोबिलाइजिङ फ्युल फर इकोनोमिक ग्रोथ’ विषयमा छलफल भयो। पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्य सहभागी थिए।

पहिलो दिनका सिकाइ सत्रमा मात्रै तीन सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।

एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा सिकाइ सत्र, नीतिगत संवाद र उद्योगबीच अन्तरक्रियालगायत कार्यक्रम सञ्चालन हुनेछन्। सडक दुर्घटनापछि तत्काल गर्नुपर्ने प्राथमिक उपचारबारे ग्रान्डी इन्टरनेसनल हस्पिटलले समेत जानकारीमूलक प्रस्तुति दिएको थियो।

‘मोबिलिटीको भविष्य’ देखाउने प्रयास

नाइमाको दोस्रो संस्करणका रूपमा आयोजना गरिएको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारी निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ। दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसँगै विद्युतीय तथा हाइब्रिड सवारी, व्यावसायिक सवारी, मोबिलिटी प्रविधि र सम्बन्धित सेवाहरू प्रदर्शनीमा राखिएका छन्।

नाइमा अध्यक्ष वैद्यले एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था देखाउने मात्र नभई आगामी दिनको दिशा तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गर्ने विश्वास व्यक्त गरिन्। उनका अनुसार नाइमा एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएकोमा अहिले ३६ सदस्य कम्पनी आबद्ध भइसकेका छन्। यसले पनि नेपालमा मोबिलिटी व्यवसायको दायरा विस्तार हुँदै गएको संकेत गर्छ।

एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटनका दिन दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म र त्यसपछिका दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनका लागि खुला रहनेछ।

यसपटकको नाइमा एक्स्पोमा देखिएका नयाँ ब्रान्ड, विद्युतीय सवारी र प्रविधिभन्दा पनि महत्वपूर्ण प्रश्न भने एउटै देखिन्छ—नेपालले अटोमोबाइल क्षेत्रलाई राजस्व उठाउने बजारका रूपमा मात्र हेर्ने कि उत्पादन, लगानी, रोजगारी र आर्थिक वृद्धिको ठूलो आधारका रूपमा अघि बढाउने? 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!