२०८३, भाद्र १ गते

आजदेखि नाइमा मोबिलिटी एक्स्पो, अटो बजारमा नयाँ मोडल र प्रविधिको प्रतिस्पर्धा

एक्स्पोमा गाडी मात्रै होइन, लगानी र नीतिबारे पनि छलफल

मंगलवार , श्रावण २६, २०८३

नेपाली अटोमोबाइल बजारमा आजदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ सुरु हुँदैछ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको एक्स्पो भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन हुनेछ।

आज अर्थात् साउन २६ गतेदेखि सुरु हुने एक्स्पोमा नेपालमा उपलब्ध तथा नयाँ सार्वजनिक हुन लागेका विद्युतीय, हाइब्रिड, पेट्रोल तथा डिजेल सवारीसाधनसँगै दुईपाङ्ग्रे, चारपाङ्ग्रे र व्यावसायिक सवारीसाधन प्रदर्शनीमा राखिनेछन्। आयोजकका अनुसार एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्डको सहभागिता रहनेछ।

यसपटकको एक्स्पोमा २९ नयाँ चारपाङ्ग्रे र १८ नयाँ दुईपाङ्ग्रे ब्रान्ड तथा मोडल सार्वजनिक गर्ने तयारी गरिएको छ। ५२ वटा स्टल रहने एक्स्पोमा करिब २० लाख रुपैयाँदेखि साढे ३ करोड रुपैयाँसम्म मूल्यका विद्युतीय सवारीसाधनसमेत प्रदर्शनीमा राखिनेछन्।

नाइमा एक्स्पोमा विभिन्न कम्पनीले नयाँ ब्रान्ड तथा मोडल सार्वजनिक गर्ने तयारी गरेका छन्। चारपाङ्ग्रेतर्फ केरी, काइयी, आर्कफक्स, किया, होर्नी बोमा, म्याक्सस, हेनरी, लिपमोटर, टोयोटा, ग्रेटवाल मोटर्स, निसान, एमजी, ओमोडा र आइकारलगायतका ब्रान्डका नयाँ सवारी सार्वजनिक हुनेछन्।

दुईपाङ्ग्रेतर्फ बजाज, टीभीएस, याडिया, जेडएक्समोटो, निउ, केरेन, ग्यारो, अल्ट्राभायोलेट र मोर्बिडेलीका नयाँ मोडल सार्वजनिक गर्ने तयारी छ। यसले नेपाली बजारमा विद्युतीय तथा नयाँ प्रविधिमा आधारित सवारीसाधनको प्रतिस्पर्धा थप तीव्र हुने संकेत गरेको छ।

एक्स्पोमा गाडी मात्रै होइन, लगानी र नीतिबारे पनि छलफल

नाइमा एक्स्पोलाई केवल नयाँ सवारीसाधन प्रदर्शन गर्ने मञ्चका रूपमा मात्र प्रस्तुत गरिएको छैन। एक्स्पो अवधिभर ‘लर्निङ सेसन’, नीति संवाद तथा उद्योग क्षेत्रसँगको अन्तरक्रियासमेत आयोजना गरिनेछ।

प्रत्यक्ष वैदेशिक लगानी, विद्युतीय सवारीको ब्याट्री पुनः प्रयोग तथा पुनः प्रशोधन, सवारी कर्जाको वित्तीय व्यवस्था, बीमा, युवा उद्यमशीलता र दिगो मोबिलिटीजस्ता विषयमा छलफल हुने आयोजकले जनाएको छ। नाइमाका अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था देखाउनुका साथै आगामी दिशासमेत तय गर्न सहयोग गर्ने बताएकी छन्।

गत वर्ष एक लाखभन्दा बढी पुगेका थिए

नाइमाले गत वर्ष आयोजना गरेको पहिलो संस्करणमा एक लाखभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेका थिए। त्यसबाट उत्साहित हुँदै यस वर्ष एक्स्पोलाई थप व्यवस्थित र व्यापक बनाइएको आयोजकको भनाइ छ।

अवलोकनकर्ताका लागि सामान्य टिकट २०० रुपैयाँ र विद्यार्थी टिकट १०० रुपैयाँ तोकिएको छ। एक्स्पोमा स्थलमै टिकट खरिद गर्दा ५० प्रतिशत छुट तथा क्यूआर भुक्तानीमा ५० प्रतिशतसम्म क्यासब्याकको योजना ल्याइएको छ। नाइमाले टिकटबाट प्राप्त रकमको १० प्रतिशत अटोमोबाइल क्षेत्रसम्बन्धी अनुसन्धानमा खर्च गर्ने घोषणा गरेको छ।

आज पहिलो दिन दिउँसो १ बजेदेखि खुल्ने

नाइमा नेपाल मोबिलिटी एक्स्पो आज साउन २६ गते उद्घाटनपछि दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। त्यसपछि एक्स्पोका बाँकी दिनमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिनेछ। नयाँ ब्रान्ड, विद्युतीय तथा हाइब्रिड सवारीसाधन र अटोमोबाइल प्रविधि एकै ठाउँमा प्रस्तुत हुने भएकाले नाइमा एक्स्पोलाई नेपाली अटो बजारमा नयाँ उत्पादन र प्रविधि प्रवेश गराउने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ। 

मेलाको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल पावर्डबाईका रुपमा रहेको छ । त्यस्तै बैंकिङ पार्टनरका रुपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस (BOSCH), एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन् ।

नाइमा मोबिलिटी एक्स्पोको को टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!