२०८३, श्रावण ३१ गते

नाडा अटो शो २०२६ भदौ ९ देखि, डिजिटल टिकटमा ५० प्रतिशतसम्म छुट

आइतवार , श्रावण २४, २०८३

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। प्रदर्शनी आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुनेछ।

अटो शोका लागि नाडाले डिजिटल टिकट खरिद गर्ने अवलोकनकर्तालाई सीमित अवधिका लागि ५० प्रतिशतसम्म ‘अर्ली बर्ड’ छुट दिने घोषणा गरेको छ। नाडाका अनुसार खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्नेले यो सुविधा पाउनेछन्।

खल्ती एपबाट वा आधिकारिक खल्ती क्यूआर कोड स्क्यान गरी अग्रिम टिकट खरिद गर्दा साधारण र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत छुट उपलब्ध हुने आयोजकले जनाएको छ। छुट सीमित अवधिका लागि मात्र लागू हुने भएकाले इच्छुक अवलोकनकर्तालाई समयमै टिकट खरिद गर्न नाडाले आग्रह गरेको छ।

ईभीदेखि पेट्रोलियम सवारीसम्म

यस वर्षको नाडा अटो शोमा विद्युतीय तथा इन्धनबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनसँगै नयाँ अटोमोबाइल प्रविधि प्रदर्शन गरिनेछ। प्रदर्शनीमा सवारीसाधनका पार्टपुर्जा, लुब्रिकेन्ट, अटोमोबाइल प्रविधि तथा सवारी खरिदसँग सम्बन्धित वित्तीय र बिमा सेवासमेत उपलब्ध हुने आयोजकले जनाएको छ।

नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनको हिस्सा बढ्दै गएको अवस्थामा यस वर्षको अटो शोमा नयाँ विद्युतीय मोडल र प्रविधि मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ। साथै पेट्रोल तथा अन्य इन्धनबाट चल्ने सवारीसाधनका नयाँ मोडलसमेत प्रदर्शनीमा राखिनेछन्।

५० वर्षको यात्रासँगै अटो शो

नाडाले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरलाई यस वर्षको अटो शोसँग जोडेको छ। पाँच दशक लामो यात्राको उत्सवका रूपमा आयोजना गर्न लागिएको प्रदर्शनीलाई एचपी लुब्रिकेन्ट्सले मुख्य प्रायोजन गरेको छ।

नाडाका अनुसार अटो शो अटोमोबाइल क्षेत्रका नयाँ प्रविधि, उत्पादन र सेवाबारे जानकारी लिन चाहने उपभोक्ताका लागि एउटै स्थानमा विभिन्न विकल्प अवलोकन गर्ने अवसर हुनेछ। आयोजकले अटोमोबाइल व्यवसायी, उपभोक्ता, युवा तथा विद्यार्थीलाई प्रदर्शनी अवलोकन गर्न आग्रह गरेको छ।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!