२०८३, भाद्र ५ गते

images
नाडाको ५० वर्षे यात्रा:

स्वर्ण जयन्ती संस्करणका रूपमा ‘१८औँ नाडा अटो शो २०२६’ भदौ ९ देखि भृकुटीमण्डपमा

दुई सयभन्दा बढी स्टल र दर्ता भएका ५५ लाख सवारीसाधनको पृष्ठभूमिमा नेपालकै ठूलो मोबिलिटी मेला लाग्दै

बिहिवार , भाद्र ४, २०८३

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। नेपालको अटोमोबाइल क्षेत्रकै ठूलो प्रदर्शनीका रूपमा आयोजना हुन लागेको अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ।

सन् १९७५ मा सीमित सवारीसाधन आयातकर्ता तथा व्यवसायी मिलेर स्थापना भएको नाडाले पाँच दशक पूरा गरेको अवसरमा यसपटकको अटो शो स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना गर्न लागेको हो।

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। आयोजकका अनुसार चारपाङ्ग्रे यात्रुवाहक सवारीका २३ ब्रान्ड, साना तथा मझौला व्यावसायिक सवारीका १७ ब्रान्ड र दुईपाङ्ग्रे सवारीका १३ ब्रान्डको सहभागिता रहनेछ।

त्यस्तै, पार्टपुर्जा, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, विद्युतीय सवारी चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसँग सम्बन्धित करिब ७० कम्पनी प्रदर्शनीमा सहभागी हुनेछन्। बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीका १० वटा स्टलसमेत रहनेछन्।

पाँच दशकमा ५५ लाख सवारीसाधन

नाडाका अनुसार पाँच दशकको अवधिमा नेपालको अटोमोबाइल क्षेत्रले उल्लेख्य विस्तार गरेको छ। हालसम्म नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्।

पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँबराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको छ। यसबाट सरकारले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको नाडाले जनाएको छ।

अटोमोबाइल क्षेत्रले सवारीसाधनको व्यापारसँगै रोजगारी, सरकारी राजस्व, सहायक उद्योग तथा समग्र आर्थिक गतिविधिमा समेत महत्त्वपूर्ण योगदान गर्दै आएको नाडाको भनाइ छ।

विद्युतीय सवारीतर्फ बढ्दो आकर्षण

नेपालको अटोमोबाइल बजार पछिल्लो समय विद्युतीय सवारीतर्फ समेत तीव्र गतिमा अघि बढिरहेको छ। नाडाका अनुसार हालसम्म नेपालमा करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेका छन्।

विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै देशभर करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जाल तयार भइसकेको जनाइएको छ। यसले नेपालको अटोमोबाइल बजार परम्परागत इन्धनमा आधारित सवारीसाधनबाट हरित गतिशीलतातर्फ रूपान्तरण भइरहेको संकेत गर्छ।

‘स्वर्ण जयन्ती केवल संस्थाको उत्सव होइन’

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करणलाई संस्थाको मात्र नभई सिङ्गो अटोमोबाइल उद्योगको योगदान र यात्रालाई प्रस्तुत गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्। 'पचास वर्ष भनेको कुनै उद्योगलाई ‘कति बिक्री गर्‍यो’ भन्ने आधारमा होइन, ‘कति धानिरहेको छ’ भन्ने आधारमा नाप्न थाल्न पर्याप्त समय हो,' अध्यक्ष उप्रेतीले भने।

उनका अनुसार अटोमोबाइल क्षेत्रलाई आयात र बिक्रीमा मात्र सीमित नराखी रोजगारी सिर्जना, राजस्व संकलन, हरित प्रविधिको विस्तार तथा समग्र आर्थिक गतिविधिको प्रमुख संवाहकका रूपमा विकास गर्न नाडाले निरन्तर भूमिका खेल्दै आएको छ।

स्वर्ण जयन्तीका अवसरमा आयोजना हुने अटो शोले नेपाली अटोमोबाइल बजारको वर्तमान अवस्था, नयाँ प्रविधि र भविष्यको दिशाबारे समेत जानकारी दिने अपेक्षा गरिएको छ।

पाँच दशकको यात्रापछि आयोजना हुन लागेको यसपटकको अटो शोले नेपाली सडक तथा यातायात प्रणालीलाई थप आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउने बहसलाई समेत अघि बढाउने नाडाको विश्वास छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!