२०८३, कार्तिक २५ गते

चार दिनको अविरल वर्षामा २७ जनाको मृत्यु, ५४२ विपद्का घटना

मंगलवार , आश्विन १३, २०८३

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशभर २७ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोमा परी उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सार्वजनिक गरेको ‘असोज ८–११ गतेको भारी वर्षाको स्थिति प्रतिवेदन’ अनुसार चार दिनमा देशभर ५४२ वटा विपद्का घटना रेकर्ड भएका छन्। ती घटनामा चार जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन्।

प्रतिवेदनअनुसार उक्त अवधिमा ३०४ वटा पहिरो, ८७ वटा बाढी र १५१ वटा भारी वर्षाका घटना रेकर्ड भएका छन्। पहिरोका घटनामा मात्रै २० जनाको मृत्यु भएको छ। यस्तै, बाढीमा परी चार जना र भारी वर्षाका कारण तीन जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। यस अवधिमा बाढी तथा पहिरोका कारण १ हजार ८२ परिवार प्रभावित भएका छन्।

२२७ घर पूर्ण क्षति

अविरल वर्षासँगै आएको बाढी र पहिरोले ठूलो संख्यामा भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ। प्राधिकरणका अनुसार २२७ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १४२ घरमा आंशिक क्षति पुगेको छ। बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा १० वटा पुलसमेत प्रभावित भएका छन्।

११४ चौपाया मरे

विपद्को असर पशुधनमा समेत परेको छ। बाढी तथा पहिरोले ३१ वटा गोठमा क्षति पुर्‍याउँदा ११४ चौपायाको मृत्यु भएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ। चार दिनमै भएको ठूलो मानवीय तथा भौतिक क्षतिले पछिल्लो वर्षायाममा बाढी, पहिरो र भारी वर्षाबाट सिर्जित विपद्को जोखिम अझ गम्भीर बनेको देखाएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images