२०८३, आश्विन १९ गते

‘कांग्रेस रूपान्तरण भयो, अब पुराना विचारले देशको आवश्यकता धान्दैन’: बाबुराम भट्टराई

आइतवार , आश्विन १८, २०८३

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी नयाँ रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेस महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भट्टराईले पुराना पार्टीको पुरानो नेतृत्व र विचारले मात्रै अब देशको आवश्यकता पूरा गर्न नसक्ने बताए।

आफू माओवादीमा रहँदा नै नेपालमा पार्टीहरू रूपान्तरण भएर नयाँ नेतृत्व आउनुपर्ने वा नयाँ राजनीतिक शक्ति उदाउनुपर्ने विषय उठाएको स्मरण गर्दै उनले अहिले ती दुवै कुरा पूरा भएको बताए।

‘१२ वर्षपछि आज म स्मरण गर्न चाहन्छु, नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ र कांग्रेस रूपान्तरण भएर नयाँ नेतृत्व आएको छ। यो देख्दा मलाई खुसी लागेको छ,’ भट्टराईले भने।

उनले कांग्रेस सभापति गगन थापाको नेतृत्वप्रति आफूले विगतदेखि नै अपेक्षा राख्दै आएको स्मरण गरे। शान्ति प्रक्रियामा आएपछि एक विदेशी पत्रकारले नेपालको कांग्रेस र कम्युनिस्ट वृत्तमा भावी नेतृत्व को होला भनेर सोध्दा आफूले कांग्रेसको भावी नेतृत्व गगन थापा हुने बताएको उनले सुनाए।

भट्टराईले नेपालजस्तै दक्षिण कोरिया, मलेसियालगायत देशले विकासमा गरेको प्रगतिबाट पाठ सिकेर नेपालका पुराना राजनीतिक दलहरू रूपान्तरण हुनुपर्ने बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि आफ्नो कार्यकाल पूरा गरेर सरकार सञ्चालन गर्न शुभकामना दिए।

उनले संघीयता, लोकतन्त्र र धर्मनिरपेक्षतालाई संविधानका मुख्य खम्बाका रूपमा उल्लेख गर्दै यी आधारभूत विषयमा परिवर्तन नगर्न आग्रह गरे। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान नसकिए पनि हजारौँको बलिदानबाट प्राप्त संविधानलाई कमजोर बनाउने काम गर्न नहुने उनको भनाइ थियो।

भट्टराईले शान्ति प्रक्रियाका बाँकी काम पनि शीघ्र पूरा गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images