२०८३, आश्विन २० गते

नेपाल लाइफको स्टार अवार्डमा एक हजार ६४ अभिकर्ता सम्मानित

आइतवार , आश्विन १८, २०८३

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशमा आयोजना गरेको ‘स्टार अवार्ड २०८२-८३’ कार्यक्रम सम्पन्न गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १ हजार ६४ जना उत्कृष्ट प्रदर्शनकर्ता सम्मानित भएका छन्।

कम्पनीले असोज ४ गते इटहरीबाट सुरु गरेको अवार्ड कार्यक्रम असोज ५ गते बर्दिबास, असोज ७ गते बुटवल, असोज ८ गते नारायणगढ, असोज ११ गते काठमाडौं, असोज १२ गते धनगढी, असोज १३ गते सुर्खेत हुँदै असोज १५ गते पोखरामा सम्पन्न गरेको हो।

कम्पनीका अनुसार विभिन्न स्थानमा आयोजित कार्यक्रममा कुल २ हजार ५८१ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए। कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, सेल्स प्रशिक्षक किशु झा तथा पेशागत बीमा अभिकर्ता संघ नेपालका पदाधिकारीलगायतको सहभागिता रहेको थियो। सबै स्थानमा मोटिभेसन तथा सेल्स प्रशिक्षक किशु झाले प्रशिक्षण दिएका थिए।

अभिकर्ता सञ्जाललाई व्यवसाय विस्तारको आधार
कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ता सञ्जाल कम्पनीको व्यवसाय विस्तार तथा ग्राहकसँगको सम्बन्ध निर्माणको महत्वपूर्ण आधार रहेको बताए। उनले अभिकर्ताहरूलाई अनुशासन, जिम्मेवारी र व्यावसायिक आचरणलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै कम्पनीले अभिकर्ताको व्यावसायिक विकासका लागि समान अवसर र आवश्यक सहयोग उपलब्ध गराउँदै आएको बताए।

बीमा सेवाप्रति आमविश्वास थप बलियो बनाउन कम्पनी, अभिकर्ता र अन्य सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो। हालैका विपद्का घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले प्रभावित परिवारप्रति समवेदना प्रकट गरे। विपद्बाट प्रभावित अभिकर्ता तथा बीमितको अवस्था पहिचान गरी आवश्यक सहयोगका लागि पहल भइरहेको जानकारीसमेत उनले दिए।

नेपाल लाइफका नेसनल सेल्स हेड उमापति पोखरेलले उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्तालाई बधाई दिँदै आगामी दिनमा थप प्रतिबद्धता र व्यावसायिक सोचका साथ काम गर्न आग्रह गरे। कम्पनीको वृद्धि, ग्राहक सेवा र बीमाको पहुँच विस्तारमा अभिकर्ताको निरन्तर योगदान महत्वपूर्ण रहेको उनले बताए।

व्यावसायिक क्षमता विकासमा जोड
पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसीले अभिकर्तासँग सम्बन्धित ऐन, नियमावली तथा व्यावसायिक सरोकारका विषयमा आवश्यक सुधारका लागि संघले पहल गरिरहेको बताए।

उनले अभिकर्ताहरूलाई सामाजिक सञ्जालमा तथ्यहीन तथा भ्रामक सामग्री सम्प्रेषण नगर्न र आफ्नो व्यावसायिक जिम्मेवारीप्रति सचेत रहन आग्रह गरे। पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले सम्मानित अभिकर्तालाई बधाई दिँदै उनीहरूको योगदानले कम्पनीको व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले अभिकर्ताहरूलाई एकजुट भएर कम्पनीको बजार विस्तारमा थप योगदान गर्न आग्रह गरे।

कम्पनीले ‘स्टार अवार्ड’लाई उत्कृष्ट कार्यसम्पादनको सम्मानमा मात्र सीमित नराखी अभिकर्ताको प्रेरणा, ज्ञान अभिवृद्धि, व्यावसायिक क्षमता विकास र अनुभव आदानप्रदानको माध्यमका रूपमा समेत अघि बढाएको जनाएको छ। देशका विभिन्न प्रमुख सहरमा कार्यक्रम आयोजना गरेर नेपाल लाइफले आफ्नो अभिकर्ता सञ्जालसँगको सम्बन्धलाई थप मजबुत बनाउने तथा बिक्री क्षमता र व्यावसायिक दक्षता अभिवृद्धिमा जोड दिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!