२०८३, आश्विन १९ गते

प्रचण्डको गगन र रविलाई सन्देश : ‘गगनले क्रम भङ्ग गरे, अब रविले गर्न बाँकी छ’

आइतवार , आश्विन १८, २०८३

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा आफ्नो कार्यकालमा मन्त्रिपरिषद्का सदस्य रहेको स्मरण गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो मन्त्रिपरिषद्मा मन्त्री बनेका नेताहरू अहिले विभिन्न राजनीतिक दलको नेतृत्वमा पुगेको बताए।

उनले गगन थापाले नेपाली राजनीतिमा नयाँ इतिहास निर्माण गरेको भन्दै प्रशंसा गरे। ‘गगनजीले निरन्तरतामा क्रमभङ्ग गरेर कांग्रेसलाई नयाँ इतिहासमा डोर्‍याउनुभयो,’ प्रचण्डले भने।

गगनलाई कांग्रेस रूपान्तरणका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायतका सहयात्रीले साथ दिएको पनि उनले बताए।

प्रचण्डले आफ्नो मन्त्रिपरिषद्मा गगन थापा स्वास्थ्य मन्त्रीका रूपमा रहेको र रवि लामिछाने पनि मन्त्री बनेको स्मरण गरे। गगनको सक्रियता र क्षमता देखेर आफूले मन्त्रिपरिषद्मा राम्रो योजना ल्याउन आग्रह गर्ने गरेको उनले सुनाए।

‘सबैभन्दा ठूलो पार्टी रास्वपाका सभापति मेरो क्याबिनेट मन्त्री, गगन थापा मेरो क्याबिनेटको स्वास्थ्य मन्त्री, अरू थुप्रै मेरा मन्त्रीहरू हुनुहुन्छ,’ उनले भने।

प्रचण्डले गगनले राजनीतिक निरन्तरतामा क्रमभङ्ग गरिसकेको उल्लेख गर्दै अब रवि लामिछानेले पनि क्रमभङ्ग गर्न बाँकी रहेको बताए। उनले रविलाई पनि नयाँ राजनीतिक कदम चाल्न आग्रह गरे।

प्राकृतिक विपत्तिसहित देशले असाधारण र जटिल परिस्थितिको सामना गरिरहेका बेला कांग्रेसको महाधिवेशन हुन लागेको उल्लेख गर्दै प्रचण्डले महाधिवेशनले समृद्ध नेपाल निर्माणका लागि महत्वपूर्ण सफलता प्राप्त गरोस् भन्दै शुभकामना व्यक्त गरे।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images