त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक नियन्त्रण प्रणाली (एटीसी) सुदृढ बनाउन जापान सरकारले नेपाललाई करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
जापानले २ अर्ब ८५ करोड ३० लाख जापानी येन अनुदान सहयोग गर्ने सम्झौता अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहबीच भएको हो ।
परियोजनाअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक नयाँ एयर ट्राफिक कन्ट्रोल टावर तथा प्रशासनिक र सुविधा भवन निर्माण गरिनेछ । नयाँ पूर्वाधार निर्माणपछि विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सेवा थप सुरक्षित, भरपर्दो र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
आयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्यान्वयन गर्नेछ ।
अनुदान सहायतासम्बन्धी एक्सचेन्ज अफ नोट्समा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन् । त्यस्तै, अनुदान सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मचुजाकीले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर समारोहमा नेपाल र जापानका अधिकारीहरूले दुई देशबीचको लामो समयदेखिको सहकार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस