नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टीको सभापतिमा निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार थापा ६ हजार ५८४ मत प्राप्त गर्दै भारी मतान्तरसहित सभापतिमा विजयी भएका हुन्।
राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। थापाले खड्गीलाई ६ हजार २०९ मतले पछि पारेका हुन्। निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो। त्यसमध्ये ६ हजार ९५९ मत सदर र ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। सदर मतका आधारमा थापाले ९४.२५ प्रतिशत मत प्राप्त गरेका छन् भने खड्गीको पक्षमा ५.३९ प्रतिशत मत परेको छ।
नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका–२०८३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी मतगणना सम्पन्न भएपछि निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का, सदस्य–सचिव राजु कटुवाल र सदस्य सुजन लोप्चनले मतपरिणाम प्रमाणीकरण गर्दै थापालाई निर्वाचित घोषणा गरेका हुन्।
थापा यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। पार्टीभित्र नेतृत्व परिवर्तन, संगठनात्मक सुधार र पुस्तान्तरणको बहसमा सक्रिय रहँदै आएका थापा विशेष महाधिवेशनबाट सभापति बनेपछि पार्टीको नेतृत्वमा पुगेका हुन्।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वसम्बन्धी विषयमा बहस उत्पन्न भएको थियो। त्यसपछि भएको १५औँ महाधिवेशनको निर्वाचन परिणामले थापाको नेतृत्वलाई थप मताधार दिएको छ।
भारी मतान्तरसहित सभापतिमा निर्वाचित थापासामु अब पार्टीको आन्तरिक एकता कायम गर्ने, संगठनलाई सुदृढ बनाउने र बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिका स्पष्ट पार्ने चुनौती रहनेछ।
प्रतिक्रिया दिनुहोस