जीओ अटोमोबाइल्स प्रालिले नेपाली बजारमा एमजी हेक्टर टोमाहक ईभी सार्वजनिक गरेको छ। नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले प्रिमियम विद्युतीय एसयूभीको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।
कम्पनीले सुरुवाती अफरअन्तर्गत पहिलो ५० जना ग्राहकलाई ५७ लाख ९९ हजार रुपैयाँमा गाडी उपलब्ध गराउने घोषणा गरेको छ। यसअनुसार प्रारम्भिक ग्राहकले नियमित मूल्यभन्दा ४ लाख रुपैयाँ कममा गाडी खरिद गर्न सक्नेछन्। कम्पनीले मूल्यमा पारदर्शिता कायम गर्ने उद्देश्यले गाडीका स्पेयर पार्ट्सको मूल्यसूचीसमेत सार्वजनिक गरेको जनाएको छ।
एमजी हेक्टर टोमाहक ईभीमा ६९.२ किलोवाट आवर क्षमताको ब्याट्री र १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ। यसले ३१० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार गाडीले एमआईडीसी मापदण्डअनुसार एकपटक पूर्ण चार्ज गर्दा ५१७ किलोमिटरसम्म यात्रा गर्न सक्छ। त्यस्तै, शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.२ सेकेन्डमा हासिल गर्न सक्छ।
चार्जिङका लागि यस एसयूभीमा ९० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यसमार्फत ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३५ मिनेट लाग्ने कम्पनीले जनाएको छ। त्यस्तै, ७.४ किलोवाटको एसी चार्जर प्रयोग गर्दा ब्याट्रीलाई १० देखि १०० प्रतिशतसम्म चार्ज गर्न करिब १२.५ घण्टा लाग्छ।
गाडीमा पाँच सिट र सात सिटको विकल्प उपलब्ध छन्। पाँच सिटको संस्करणमा ६१० लिटरसम्मको बुट स्पेस रहेको छ। यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा २२.३ सेन्टिमिटरको मल्टी इन्फर्मेसन डिस्प्ले समावेश गरिएको छ।
सुरक्षाका लागि एमजी हेक्टर टोमाहक ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ट्र्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, एबीएससहित ईबीडी, चारवटै पाङ्ग्रामा डिस्क ब्रेक, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, आइसोफिक्स चाइल्ड सिट एंकर, रियर पार्किङ सेन्सर र रिभर्स पार्किङ क्यामेरा उपलब्ध छन्।
जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले एमजी हेक्टर टोमाहक ईभी नेपाली ग्राहकसमक्ष ल्याउन पाउँदा गौरवान्वित भएको बताए। नेपालमा स्मार्ट तथा दिगो यातायातप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै उनले यस गाडीले प्रविधि, आराम र विद्युतीय कार्यक्षमताको संयोजन प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। उनले ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको पनि बताए।
एमजी हेक्टर टोमाहक ईभीको बुकिङ तथा टेस्ट ड्राइभ गर्न इच्छुक ग्राहकले काठमाडौँको थापाथलीस्थित एमजी काठमाडौंमा सम्पर्क गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस