भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उद्यम, व्यवसाय तथा ऋणीहरूलाई बैंकको कर्जाको सावाँ–ब्याजको किस्ता भुक्तानी गर्न आगामी पुस मसान्तसम्मको थप समय दिइएको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि यस्तो व्यवस्था गरेको हो।
केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार बाढीबाट प्रत्यक्ष प्रभावित क्षेत्रका उद्यम, आयोजना तथा रसुवा भन्सार नाका हुँदै कच्चा पदार्थ, अर्धतयारी वा तयारी मालवस्तु आयात–निर्यात गर्ने व्यवसायीले यो सुविधा पाउनेछन्।
असार र साउनमा आएको बाढीले पारेको प्रभावबारे विस्तृत विश्लेषण तथा अध्ययन भइरहेको भन्दै राष्ट्र बैंकले २०८३ असोज मसान्तभित्र भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याजको किस्ता तिर्न कठिनाइ भएका ऋणीलाई पुस मसान्तसम्मको थप समय दिने निर्णय गरेको हो।
राष्ट्र बैंकले थप समय उपलब्ध गराउँदा बैंक तथा वित्तीय संस्थालाई ऋणीको वास्तविक आर्थिक अवस्था मूल्यांकन गर्न निर्देशन दिएको छ। त्यसका लागि ऋणीको बिक्री तथा आम्दानी, नगद प्रवाह, जगेडा रकम, आयात–निर्यातमा परेको प्रभाव र कर्जाको सदुपयोगिताको यथार्थपरक विश्लेषण गर्नुपर्नेछ।
बाढीबाट प्रभावित व्यवसायलाई तत्काल कर्जा भुक्तानीको दबाब कम गरी आर्थिक गतिविधि निरन्तरता दिन सहयोग पुर्याउनु यो व्यवस्थाको उद्देश्य हो। तर सुविधा पाउने ऋणीको अवस्था र कर्जाको प्रयोगबारे बैंकहरूले वास्तविक मूल्यांकन गर्नुपर्नेछ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी परिपत्र जारी गरिएको कार्यकारी निर्देशक रामु पौडेलले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस