२०८३, कार्तिक ११ गते

आज एनपीएलमा एक खेल, सुदूरपश्चिमसँग बदला लिने दाउमा पोखरा

बुधवार , कार्तिक ११, २०८३

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा आज बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा पोखरा अघिल्ला दुई संस्करणमा सुदूरपश्चिमसँग व्यहोरेको हारको इतिहास बदल्ने लक्ष्यमा हुनेछ। सुदूरपश्चिम भने पोखरालाई हराउँदै प्रतियोगितामा आफ्नो अभियान अघि बढाउन चाहन्छ।

पोखराले एनपीएलका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिमसँगका दुवै खेल गुमाएको थियो। यसपटक कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखरा विगतको नतिजा उल्ट्याउँदै प्रतियोगितामा बलियो उपस्थिति जनाउने योजनामा छ। अघिल्ला संस्करणमा प्लेअफसम्म पुग्न नसकेको पोखराका लागि यसपटकको प्रदर्शन महत्त्वपूर्ण हुनेछ।

यता, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम पनि उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। लगातार दुई संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक ट्रफी उचाल्ने अभियानमा छ।

दुवै टोलीमा स्वदेशी र विदेशी खेलाडी
सुदूरपश्चिमको टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दीपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल छन्। विदेशी खेलाडीमा शेरफन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेन छन्।

पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन्। टोलीमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदीप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतीक पोखरेल र विपिन आचार्य छन्। विदेशी खेलाडीमा शाकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनन्जय लक्षण रहेका छन्।

कात्तिक ९ गतेदेखि सुरु भएको तेस्रो संस्करणको एनपीएलमा आठ टोली सहभागी छन्। प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको फाइनल मंसिर ५ गते हुनेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images