लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयको ताला बहुमत सदस्यहरूले खोलेका छन्। नेपाली फुटबल क्षेत्रलाई पुनः चलायमान बनाउने उद्देश्यसहित वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा सदस्यहरूले सातदोबाटोस्थित एन्फा मुख्यालयको ताला खोलेका हुन्।
ताला खोलेसँगै उनीहरूले आगामी कात्तिक १३ गते एन्फा कार्यसमितिको बैठक बस्ने घोषणा गरेका छन्।
एन्फाको विधानअनुसार एकतिहाइभन्दा बढी सदस्यले २१ दिनअघि नै कार्यसमिति बैठक बोलाउन माग गरेका थिए। तर, बैठक आह्वान नभएपछि २२औँ दिनमा कार्यालयको ताला खोलेर बैठक बस्ने विषयमा छलफल गरिएको वरिष्ठ उपाध्यक्ष खड्काले जानकारी दिए।
खड्काका अनुसार बैठकमा फिफाले लगाएको प्रतिबन्ध, सरकारसँगको सहकार्य तथा तहगत निर्वाचनमा देखिएको अवरोध हटाउने विषयमा छलफल हुनेछ। नेपाली फुटबलमा देखिएको विवाद समाधान गर्दै निकास खोज्ने उद्देश्यले बैठक बोलाइएको उनले बताए।
उनले कात्तिक १३ गते हुने बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवलगायत सम्पूर्ण कार्यसमिति सदस्यलाई उपस्थित भएर नेपाली फुटबलको समस्या समाधानका लागि सामूहिक निर्णय गर्न आग्रह गरेका छन्।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले निलम्बन गरेपछि नेपाली फुटबल क्षेत्र ठप्प छ। लामो समयदेखि जारी विवाद र प्रतिबन्धका कारण प्रभावित फुटबल गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन एन्फाभित्र छलफल र सहमतिको प्रयास अघि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस