दशैंको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या बढेको छ। घटस्थापनादेखि कात्तिक ८ गते पूर्णिमासम्मको अवधिमा २० हजार ८७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। उनीहरूबाट निकुञ्जले १ करोड ७३ लाख ४४ हजार ६५० रुपैयाँ राजस्व संकलन गरेको छ।
निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार भ्रमण गर्ने पर्यटकमध्ये ११ हजार ८९१ जना नेपाली, सार्क मुलुकका ८३१ जना र अन्य विदेशी मुलुकका ७ हजार ३६५ जना छन्। निकुञ्जको तथ्यांकअनुसार सबैभन्दा धेरै पर्यटक सौराहा क्षेत्रबाट जीप सफारी गर्दै निकुञ्ज प्रवेश गरेका छन्। दशैंको टीकापछि सौराहा क्षेत्रमा नेपाली पर्यटकको चहलपहल बढेको देखिन्छ।
कात्तिक ६ गते सौराहा प्रवेशद्वारबाट २ हजार ३७ जना नेपाली पर्यटक निकुञ्ज घुम्न गएका थिए। कात्तिक ७ गते यो संख्या बढेर २ हजार ८६ पुगेको थियो भने कात्तिक ८ गते १ हजार ७१३ जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए।
निकुञ्ज प्रवेशका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकले १ हजार रुपैयाँ र अन्य विदेशी पर्यटकले २ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। निकुञ्जभित्र जीप सफारी गर्दा प्रतिजीप एकपटकको ५ हजार रुपैयाँ शुल्क लाग्छ।
चितवन राष्ट्रिय निकुञ्जले सौराहा क्षेत्रको प्रवेशद्वारबाट २०८३ असोज २९ गतेदेखि अनलाइन टिकट काट्न सकिने व्यवस्था सुरु गरेको छ। यसले पर्यटकलाई प्रवेश टिकट लिन सहज बनाउने अपेक्षा गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु, विभिन्न प्रजातिका चराचुरुङ्गी र प्राकृतिक वातावरण अवलोकनका लागि लोकप्रिय गन्तव्य हो। राप्ती नदीमा डुंगा सफारी तथा आसपासका क्षेत्रमा थारू संस्कृतिको अनुभव लिन पनि पर्यटक चितवन पुग्ने गर्छन्।
निकुञ्जभित्र जीप सफारी, सामुदायिक तथा मध्यवर्ती वन क्षेत्रमा हात्ती सफारी र राप्ती नदीमा डुंगा सफारी यहाँका प्रमुख पर्यटकीय गतिविधि हुन्। सौराहासँगै पश्चिम चितवनका मेघौली, पटिहानी र जगतपुर क्षेत्रमा पनि दशैंका बेला स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल तथा पर्यटन व्यवसायीले बताएका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८२/८३ मा २ लाख ७२ हजार ९२३ जना पर्यटकले भ्रमण गरेका थिए। दशैं अवधिमा मात्रै २० हजारभन्दा बढी पर्यटकले निकुञ्ज भ्रमण गर्नुले चाडपर्वको समयमा आन्तरिक तथा बाह्य पर्यटन गतिविधि सक्रिय हुने देखाएको छ।
प्रतिक्रिया दिनुहोस