युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्दै स्थानीय स्रोतसाधन र जनशक्तिको उपयोगमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट सुरु भएको छ ।
‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने नारासहित सुरु गरिएको अभियानले सातवटै प्रदेशका व्यावसायिक सम्भावना पहिचान गरी स्थानीयस्तरमा उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
समिटकी अध्यक्ष शोभा ज्ञवालीले युवालाई जागिर खोज्नेभन्दा पनि आफैँ जागिर सिर्जना गर्ने उद्यमी बनाउने उद्देश्यले अभियान सुरु गरिएको बताइन् । युवामा नयाँ सोच, सीप र व्यावसायिक सम्भावना भए पनि लगानी, मार्गदर्शन तथा बजारको पहुँच अभावमा धेरै उद्यम सुरुवातमै रोकिने गरेको उनको भनाइ छ ।
उनले व्यवसाय दर्ता प्रक्रिया सरल बनाउन, स्टार्टअप कर्जा सहज बनाउन तथा राम्रो व्यावसायिक योजना भएका तर धितो नभएका युवालाई समेत वित्तीय पहुँच उपलब्ध गराउन सरकारसँग आग्रह गरिन् ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुदान तथा सरकारी सहयोगलाई उत्पादन र रोजगारी सिर्जनासँग जोड्नुपर्ने बताए । सरकारी सहयोग उत्पादनमूलक क्षेत्रमा केन्द्रित भए मात्रै त्यसको प्रभावकारिता बढ्ने उनको भनाइ थियो ।त्यस्तै, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले युवालाई उद्यमशीलतामा आकर्षित गर्न तालिम, सिड मनी तथा व्यावसायिक परामर्श उपलब्ध गराउँदै आएको जानकारी दिए ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले स्टार्टअप व्यवसायका लागि वित्तीय पहुँच, लगानी र प्रभावकारी व्यावसायिक योजनाको महत्त्वबारे धारणा राखेका थिए ।समिटअन्तर्गत सातवटै प्रदेशबाट चारदेखि पाँचवटा उत्कृष्ट स्टार्टअप छनोट गरी काठमाडौंमा अन्तिम सम्मेलन आयोजना गर्ने योजना रहेको छ ।
स्थानीय स्रोतसाधनको उपयोग, नयाँ प्रविधिको प्रयोग र युवा उद्यमशीलतालाई प्रोत्साहन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियानले नयाँ व्यावसायिक सम्भावनाको खोजीमा रहेका युवालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस