एनएमबि बैंक लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज पुस ८ गते मंगलबार अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।
एनएमबि बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको पुस २४ गते बस्ने वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।
त्यस्तै, साना किसान विकास लघुवित्तले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस २५ गते बस्ने साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ ।
आजसम्म नेप्सेमा शेयर खरिद गरी कायम शेयरधनी बनेका लगानीकर्ताले यी दुवै कम्पनीको लाभांश पाउनेछन् ।

