पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशानं) र ई–स्पोर्ट्स काउन्टीको आयोजनामा प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपालका १६ उत्कृष्ट पब्जी मोबाइल टोलीले प्रतिस्पर्धा गर्नेछन् । पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) सम्म पुग्ने आधिकारिक प्रतियोगिता हो । प्रतियोगितामा डीआरएससहित १६ टोली सहभागी छन् । होरा ई–स्पोर्ट्स भने यसअघि नै अर्को चरणमा पुगिसकेको छ ।
प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ। विजेताले ४००, उपविजेताले २५० र तेस्रो हुने टोलीले १५० डलर पाउनेछन् । चौथो हुने टोलीले १२० र पाँचौँ हुने टोलीले ८० डलर पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट उत्कृष्ट १२ टोली ‘२०२६ पब्जी मोबाइल नेशनल च्याम्पियनसिप–साउथ एसिया फल’का लागि छनोट हुनेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्वीकृति प्राप्त प्रतियोगितामा खेलसँगै दर्शकका लागि गीत–संगीत, फुड स्टल र विभिन्न गेमिङ जोनको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
दुई दिनसम्म चल्ने प्रतियोगिताले नेपाली पब्जी मोबाइल खेलाडी तथा ई–स्पोर्ट्स टोलीलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने अवसर दिने आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस