नेपाल र बंगलादेशबीच आगामी वर्ष तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)को सहकार्यमा शृंखला आयोजना हुन लागेको हो।
क्यानका अनुसार शृंखलाका तीन खेल सन् २०२७ मार्च २६, २८ र ३० तारिखमा काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट रंगशालामा हुनेछन्। विशेष रूपमा, उक्त शृंखलालाई नेपालमा हालै आएको रसुवा बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा समर्पित गरिने भएको छ।
क्यानका सचिव पारस खड्काले बुधबार जारी गरेको विज्ञप्तिअनुसार क्यान र बीसीबीले संयुक्त रूपमा शृंखलालाई मित्रता, मानवीय संवेदना, स्मरण र ऐक्यबद्धताको सन्देश बोकेको विशेष कार्यक्रमका रूपमा अघि बढाउने निर्णय गरेका छन्।
नेपाल र बंगलादेशबीचको सहकार्य टी–२० आई शृंखलामा मात्र सीमित नरहने क्यानले जनाएको छ। दुवै क्रिकेट बोर्डले महिला क्रिकेट, उमेर समूहको क्रिकेट तथा भविष्यमा ‘ए’ टोलीका भ्रमण र द्विपक्षीय कार्यक्रमलाई समेत प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएका छन्।
क्यानका अनुसार यस्तो सहकार्यले दुई देशबीचको क्रिकेट सम्बन्धलाई थप विस्तार गर्दै खेलाडीको अन्तर्राष्ट्रिय अनुभव तथा क्रिकेट विकासका कार्यक्रमलाई अघि बढाउन सहयोग पुग्नेछ।
तीन खेलको शृंखला कीर्तिपुरमा आयोजना हुने भएपछि नेपाली क्रिकेट समर्थकले लामो समयपछि घरेलु मैदानमा बंगलादेशजस्तो अन्तर्राष्ट्रिय टोलीसँग टी–२० आई क्रिकेट प्रत्यक्ष हेर्ने अवसरसमेत पाउनेछन्।
प्रतिक्रिया दिनुहोस