अस्ट्रेलियाका पूर्वराष्ट्रिय क्रिकेट खेलाडी डेविड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजबाट खेल्ने भएका छन्।
काठमाण्डू गोर्खाजले मंगलबार सामाजिक सञ्जालमार्फत वार्नरलाई एनपीएल–३ का लागि टोलीमा अनुबन्ध गरिएको औपचारिक घोषणा गरेको हो। अनुबन्धसम्बन्धी भिडियोमा वार्नरले नेपाल आउन र एनपीएलमा सहभागी हुन आफू उत्साहित रहेको बताएका छन्।
काठमाण्डू गोर्खाजले केही दिनअघि नै वार्नरको अनुबन्धबारे संकेत गरेको थियो। टोलीले सामाजिक सञ्जालमा सन् २०१९ मा पाकिस्तानविरुद्ध वार्नरले बनाएको ३३५ रनलाई उल्लेख गर्दै उनको आगमनबारे ‘हिन्ट’ दिएको थियो।
वार्नरको आगमनले एनपीएलको अन्तर्राष्ट्रिय आकर्षण थप बढाउने अपेक्षा गरिएको छ। अस्ट्रेलियाका अनुभवी ब्याटर वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटसँगै विभिन्न देशका फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा समेत लामो अनुभव हासिल गरेका छन्।
एनपीएलको तेस्रो सिजनमा वार्नरजस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिताले नेपाली क्रिकेटको ब्रान्ड मूल्य, दर्शक आकर्षण र प्रतियोगिताको व्यावसायिक पक्षलाई थप बल पुग्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस