साताको कारोबारको तेस्रो दिन बुधबार (असोज १४) पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ। बुधबारको गिरावटसँगै नेप्से ९ कारोबार दिनपछि २६०० विन्दुमुनि झरेको छ।
बुधबार नेप्से परिसूचक ४.८२ अंक अर्थात् ०.१८ प्रतिशतले घटेर २,५९८.८९ विन्दुमा बन्द भएको छ। यसअघि मंगलबार नेप्से ९.६२ अंक र सोमबार १६.४७ अंकले घटेको थियो। यसरी बजार लगातार तेस्रो कारोबार दिन घटेको हो। यसअघि गत भदौ २९ गते नेप्से २६०० विन्दुमुनि बन्द भएको थियो।
नेप्से घटे पनि बुधबार कारोबार रकम भने बढेको छ। यस दिन ३५२ कम्पनीको १ करोड २६ लाख ५५ हजार कित्ता सेयर ४७ हजार ९०० पटकको कारोबारबाट किनबेच भएको छ। कुल कारोबार रकम ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ पुगेको छ। मंगलबार करिब ४ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। यस दिन कारोबार भएका कम्पनीमध्ये १०९ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
बुधबार सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक १४.३७ प्रतिशतले बढेको छ। त्यस्तै, सयपत्री हाइड्रोपावरको ८.४१ प्रतिशत र घलेम्दी हाइड्रोपावरको ७.३१ प्रतिशतले सेयर मूल्य बढेको छ। मैलुङ खोला जलविद्युत्को सेयर मूल्य ५.२६ प्रतिशत र पिपल्स हाइड्रोपावरको ४.२८ प्रतिशतले बढेको छ। यस दिन सबैभन्दा धेरै सेयर मूल्य घट्नेमा सानीमा ग्रोथ फण्ड, चिर्ख्वा हाइड्रोपावर र सोपान फार्मास्युटिकल्स रहेका छन्।
कारोबार रकमका आधारमा बुधबार घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको करिब ३९ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, पिपुल्स हाइड्रोपावरको करिब २३ करोड रुपैयाँ र मञ्जुश्री फाइनान्सको १८ करोड ५० लाख रुपैयाँभन्दा बढीको संस्थापक सेयर कारोबार भएको छ।
बुधबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूह घटेका छन्। व्यापार उपसमूह सर्वाधिक १.१८ प्रतिशतले बढेको छ। जलविद्युत् र म्युचुअल फण्ड उपसमूहको परिसूचक पनि सामान्य बढेको छ।
बैंकिङ, विकास बैंक, वित्त, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटनलगायत अधिकांश उपसमूहमा गिरावट आएको छ। बुधबार सेन्सेटिभ इन्डेक्स २.०२ अंक, फ्लोट इन्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अंकले घटेका छन्।
प्रतिक्रिया दिनुहोस