२०८३, आश्विन २० गते

कांग्रेसको नयाँ नीति : अब चुनावअघि गठबन्धन नगर्ने

सोमवार , आश्विन १९, २०८३

नेपाली कांग्रेसले आगामी निर्वाचनमा चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने नीति अघि सारेको छ । काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा कांग्रेसले आफ्नै चुनाव चिह्न ‘रुख’ लिएर एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाइएको हो ।

विगतका निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्षसहित कांग्रेसले आगामी दिनमा आफ्नै संगठन, नीति, कार्यक्रम र उम्मेदवारका आधारमा निर्वाचनमा जाने नीति लिएको हो ।

राजनीतिक प्रस्तावमा भनिएको छ, ‘निर्वाचनपूर्व गठबन्धन नगरी रुख चिह्नमा आफ्नै उम्मेदवार र कार्यक्रमसहित प्रतिस्पर्धा गर्ने प्रतिबद्धतामा हामी दृढ छौं ।’

कांग्रेसले राजनीतिक मर्यादासम्बन्धी खण्डमा पनि निर्वाचनपूर्व गठबन्धन र मतको अंकगणितका आधारमा पार्टीको पहिचान निर्माण नगर्ने स्पष्ट पारेको छ । आफ्नै चुनाव चिह्न, कार्यक्रम र उम्मेदवारसहित प्रतिस्पर्धा गर्दै निर्वाचन जित्न योग्य पार्टीका रूपमा आफूलाई स्थापित गर्ने नीति प्रस्तावमा उल्लेख छ ।

सत्ताका लागि भागबन्डा नगर्ने
कांग्रेसले अन्य राजनीतिक दलसँग राष्ट्रिय मुद्दामा आवश्यक सहकार्य गर्ने तर त्यसलाई सत्ताको लेनदेनमा परिणत नगर्ने नीति अघि सारेको छ ।

संविधानको रक्षा, विपद् व्यवस्थापन, राष्ट्रिय सुरक्षा, न्याय तथा सार्वजनिक हितका विषयमा अन्य दलसँग सहकार्य गर्न सकिने भए पनि त्यसलाई सत्ता वा राज्यका संस्थामा भागबन्डाको माध्यम बनाउन नहुने प्रस्तावमा उल्लेख छ ।पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनीतिक सहकार्यको आधार नबनाउने प्रतिबद्धता पनि कांग्रेसले जनाएको छ ।

‘नो भोट’ र विदेशबाट मतदानको प्रस्ताव
निर्वाचन प्रणाली सुधारका लागि कांग्रेसले ‘राइट टु रिजेक्ट’ अर्थात् कुनै पनि उम्मेदवारलाई मत नदिने विकल्पबारे सार्वजनिक बहस अघि बढाउने प्रस्ताव गरेको छ ।

त्यस्तै, निर्वाचनलाई स्वच्छ र कम खर्चिलो बनाउने तथा विदेशमा रहेका वा स्थायी निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपाली नागरिकको मतदानमा पहुँच सुनिश्चित गर्न सुधार अघि बढाउने प्रस्तावमा उल्लेख छ ।

घुम्ती आरक्षित निर्वाचन क्षेत्र तथा प्रतिनिधित्व प्रणाली सुधारका विषयलाई समेत सार्वजनिक बहसमा लैजाने कांग्रेसको प्रस्ताव छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!