कैलालीमा चट्याङ लागेर जन्मदिन मनाइरहेका सात जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा सोमबार राति घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ परेको हो। प्रहरीका अनुसार राति करिब साढे ९ बजे घर नजिकै चट्याङ पर्दा त्यसको झिल्काले उनीहरू घाइते भएका हुन्।
घाइते हुनेमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन्।
स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाउने क्रममा घटना भएको प्रहरीले जनाएको छ।
घाइते सबैलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। उनीहरूको अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस