नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। असोज २३ गते शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सेयरधनीहरूको उपस्थितिमा सभा सम्पन्न भएको हो।
बैंक सञ्चालक समितिका अध्यक्ष महेशप्रसाद दहालको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, सेयरधनी तथा सम्बन्धित पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै अध्यक्ष दहालले समीक्षा अवधिमा बैंकले हासिल गरेका उपलब्धि, चालु आर्थिक वर्षका लागि तय गरिएका योजना तथा लक्ष्य र भावी रणनीतिबारे सेयरधनीहरूलाई जानकारी गराएका थिए।
सभाले बैंकको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको बैंकले जनाएको छ।
सभाबाट पारित नगद लाभांशले सेयरधनीलाई प्रतिफल उपलब्ध गराउने निर्णयलाई औपचारिकता दिएको छ।
प्रतिक्रिया दिनुहोस