२०८३, कार्तिक ११ गते

एनपीएलमा आज दुई खेल : विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै

मंगलवार , कार्तिक १०, २०८३

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। प्रतियोगिताको पहिलो दिन सोमबार एक खेल भएकोमा आज भने चार टोली मैदानमा उत्रिँदै छन्। पहिलो खेलमा चितवन राइनोज र विराटनगर किङ्ग्स भिड्नेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

सोमबार भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो।

पहिलो खेलमा विराटनगर र चितवन आमनेसामने
मंगलबारको पहिलो खेलमा सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्स र कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

विराटनगरको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद र सुजन थपलियालगायत नेपाली खेलाडी छन्। विदेशी खेलाडीमा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने र चरिथ असलंकालगायत छन्।

यता, चितवन राइनोजमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमलसिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, विवेक यादव, मौसम ढकाल र विपिन रावललगायत खेलाडी छन्। विदेशी खेलाडीमा रवि बोपारा, सिकन्दर राजा, कलिम साना, हसन अली र उसामा मीरलगायत छन्।

साँझ जनकपुर र कर्णालीबीच प्रतिस्पर्धा
मंगलबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। जनकपुरको कप्तानी हर्मित सिंहले गर्नेछन्। टोलीमा कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, अभिषेक तिवारी, विशाल पटेल, जिमी नीशम, मोइन अली र इफ्तिकार अहमदलगायत खेलाडी छन्।

कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गर्नेछन्। टोलीमा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, विपिनप्रसाद शर्मा, दीपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ र सचिन शर्मालगायत खेलाडी समावेश छन्।

मंसिर ५ गते फाइनल
एनपीएलको समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मंसिर १ गते पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच पहिलो क्वालिफायर खेल हुनेछ। मंसिर २ गते तेस्रो र चौथो स्थानका टोलीबीच इलिमिनेटर खेल हुनेछ।

मंसिर ३ गते पहिलो क्वालिफायरमा पराजित हुने टोली र इलिमिनेटरमा विजयी हुने टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। प्रतियोगिताको फाइनल मंसिर ५ गतेका लागि तय गरिएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images