नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई पहिले ब्याटिङका लागि निम्तो दिएका हुन् ।
यस खेलमा सुदूरपश्चिम जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा गत कात्तिक ९ गते साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएपछि सुदूरपश्चिम दबाबमा छ । त्यसैले टोली पोखराविरुद्ध जित निकाल्दै उपाधि दौडमा आफूलाई कायम राख्न चाहन्छ ।
यता, पोखरा एभेन्जर्स भने यस संस्करणमा विजयी सुरुआत गर्ने लक्ष्यमा छ । पोखराका लागि यो प्रतियोगिताको पहिलो खेल हो ।
गत संस्करणमा पोखराले ६ अंक जोड्दै पाँचौँ स्थानमा रहेर प्रतियोगिता टुंग्याएको थियो । यसपटक राम्रो सुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको पोखराका लागि सुदूरपश्चिमविरुद्धको खेल महत्त्वपूर्ण हुनेछ ।
उपाधि दाबेदार मानिएको सुदूरपश्चिम र विजयी सुरुआतको खोजीमा रहेको पोखराबीचको प्रतिस्पर्धाले एनपीएलको अंकतालिकामा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।
प्रतिक्रिया दिनुहोस