चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा मुलुकको कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको हो ।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ रहेको थियो । चालु आवमा आयात र निर्यात दुवैमा वृद्धि भएसँगै कुल वैदेशिक व्यापारको आकार बढेको हो ।
विभागका अनुसार चालु आवको साउनदेखि असोजसम्म ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशतले बढी हो । गत वर्षको पहिलो तीन महिनामा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
त्यस्तै, चालु आवको पहिलो त्रैमासमा नेपालबाट १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.०३ प्रतिशतले बढी हो । गत वर्षको पहिलो तीन महिनामा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
व्यापार घाटा ३४.७१ प्रतिशतले बढ्यो
निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको आकार ठूलो रहेकाले नेपालको व्यापार घाटा भने बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३४.७१ प्रतिशतले वृद्धि भई ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।
यद्यपि, आयातको तुलनामा निर्यातको अनुपातमा सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ४३ पैसाको आयात हुने गरेकोमा चालु आवमा यो अनुपात घटेर ५ रुपैयाँ ६६ पैसामा झरेको छ ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ । गत आवको पहिलो तीन महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १३.४६ प्रतिशत रहेकोमा चालु आवमा बढेर १५.०२ प्रतिशत पुगेको छ । यसैगरी, आयातको हिस्सा गत वर्षको ८६.५४ प्रतिशतबाट घटेर ८४.९८ प्रतिशतमा सीमित भएको छ ।
प्रतिक्रिया दिनुहोस