कामना सेवा विकास बैंकले आयोजना गर्न लागेको ‘कामना सेवा फुटसल कप सिजन ६’ को टाइसिट ड्र, जर्सी, ट्रफी तथा ब्रान्ड एन्थम सार्वजनिक गरेको छ। कात्तिक ११ गते आयोजित कार्यक्रममा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति थियो।
कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले फुटसल कप बैंकका लागि प्रतियोगितामा मात्र सीमित नभई खेलकुदमार्फत समाज र युवासँग जोडिने माध्यम भएको बताए। खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र सामूहिक कार्यको भावना विकास गर्ने भएकाले बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो।
कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत त्रिपाठीले प्रतियोगिताको ब्रान्ड एन्थम सार्वजनिक गर्नुका साथै सहभागी टोलीका टिम म्यानेजरलाई जर्सी हस्तान्तरण गरेका थिए। सोही अवसरमा प्रतियोगिताको टाइसिट ड्र पनि सार्वजनिक गरिएको थियो।
यस वर्षको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता कात्तिक १४ र १५ गते धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुनेछ। कार्यक्रममा गत सिजनको पुरुषतर्फको उपाधि विजेता सिद्धार्थ बैंक र महिलातर्फको उपाधि विजेता लुम्बिनी विकास बैंकका प्रतिनिधिले पनि मन्तव्य राखेका थिए। उनीहरूले बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच आपसी सम्बन्ध र सहकार्य विकास गर्न यस्तो प्रतियोगिताले सहयोग पुर्याउने बताए।
खेल भावना र अनुशासनमा जोड
कार्यक्रममा फिफा तथा एएफसीका एलिट असिस्टेन्ट रेफ्री हरीश कार्कीले प्रतियोगितामा लागू हुने खेल नियमबारे जानकारी गराएका थिए। उनले खेलको अनुशासन, फाउल तथा निर्णयसम्बन्धी नियम बुझेर स्वच्छ र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्न सहभागी टोलीलाई आग्रह गरे। कार्यक्रममा साउथ एसियन फुटसल रेफ्री सङ्गीता सुनुवारको पनि उपस्थिति थियो।
कामना सेवा विकास बैंकले खेलकुद प्रवर्द्धन, युवा प्रतिभालाई अवसर प्रदान तथा महिलाको सहभागिता प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।
प्रतिक्रिया दिनुहोस