नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको हो ।
पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्जुनले इनिङ्सको अन्तिम ओभरमा १५ रन जोड्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए ।
त्यस्तै, महेदी हसनले ३२ रनको योगदान दिए । उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । महेदीलाई छैटौँ ओभरको पाँचौँ बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले क्याच आउट गराए । उक्त विकेट अनिल खरेलको नाममा रह्यो ।
पोखराले सुरुआतमै विकेट गुमाएको थियो । तेस्रो ओभरको दोस्रो बलमा ओपनर दिनेश खरेल ७ बलमा ४ रन बनाएर हेमन्त धामीको बलमा आउट भए ।
कप्तान कुशल भुर्तेलले १७ बलमा २ चौकासहित २१ रन बनाए । पहिलो बलमै डीआरएसमार्फत आउट हुनबाट जोगिएका कुशल दसौँ ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरीको बलमा क्याच आउट भए ।
शाकिब अल हसनले १६ बलमा १४ रन बनाए भने सदिरा समराविक्रमा ८, धनञ्जय लक्षन ११ र किरण ठगुन्ना १ रनमा आउट भए । विपिन खत्री ५ रनमा अविजित रहे ।
सुदूरपश्चिमका लागि स्पिनर अनिल खरेलले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा २३ रन खर्चिए । अनिलले महेदी हसन, शाकिब अल हसन र सदिरा समराविक्रमालाई आउट गरे ।
त्यस्तै, हेमन्त धामी, स्कट कुगेलेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।
अब सुदूरपश्चिम रोयल्सले जितका लागि २० ओभरमा १४६ रन बनाउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस