हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय स्याउ उत्पादन बढ्दै गएको छ। खेतीयोग्य क्षेत्रफल विस्तार र फल दिने बोटको सङ्ख्या बढेसँगै जिल्लामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन भएको छ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको हो। केन्द्रका सूचना अधिकारी प्रेमराज न्यौपानेले यस वर्ष उत्पादित स्याउमध्ये ५६ प्रतिशत मात्रै बिक्री भएको जानकारी दिए।
उनका अनुसार जिल्लाका चार स्थानीय तहमा मुख्य रूपमा स्याउखेती हुँदै आएको छ। यस वर्ष स्वामीकार्तिक खापर गाउँपालिकामा सबैभन्दा बढी १२५ मेट्रिकटन स्याउ उत्पादन भएको छ। त्यस्तै, जगन्नाथ गाउँपालिकामा ९७, बुढीनन्दा नगरपालिकामा ७८ र हिमाली गाउँपालिकामा ३७ मेट्रिकटन स्याउ उत्पादन भएको छ।
जिल्लाभित्र र बाहिर गरी यस वर्ष १ करोड ७१ लाख ३७ हजार रुपैयाँ बराबरको स्याउ बिक्री भएको केन्द्रले जनाएको छ। गत वर्ष जिल्लामा १ करोड ५० लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको थियो।
हाल जिल्लामा ४२५ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ। त्यसमध्ये २१० हेक्टरमा मात्रै उत्पादन भइरहेको छ। चार प्रमुख स्थानीय तहसँगै खप्तड छेडेदह र गौमुललगायत क्षेत्रमा पनि स्याउखेती विस्तार भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
उत्पादन बढ्यो, बजारीकरणमा समस्या
कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले खेतीको क्षेत्रफल विस्तारसँगै उत्पादन बढे पनि अपेक्षाअनुसार बिक्री हुन नसकेको बताए। उनका अनुसार वर्षायाममा अवरुद्ध सडक स्याउ पाक्ने समयमा ढिलो गरी सञ्चालन हुँदा ढुवानीमा समस्या भएको हो। दसैँमा सडक खुलेपछि मात्रै स्थानीय बजार, सदरमुकाम मार्तडी तथा धनगढी र नेपालगञ्जसम्म स्याउ बिक्रीका लागि पुर्याइएको थियो।
यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट स्याउ ढुवानी अनुदानका लागि बजेट नआउँदा किसानले आफ्नै खर्चमा ढुवानी गरेर बिक्री गर्नुपरेको उनले बताए।
पछिल्लो समय बाजुरामा स्थानीय जातका स्याउसँगै फुजी, गाला, गोल्डेन र रोयल डेलिसियसलगायत उन्नत जातका स्याउखेती पनि विस्तार हुँदै गएको छ। किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न कृषि ज्ञान केन्द्रले क्षेत्रफल विस्तार र बगैँचा सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सडक र शीतभण्डार अभावले किसानलाई सास्ती
स्याउ उत्पादन बढ्दै गए पनि सहज सडक, भरपर्दो ढुवानी सेवा र शीतभण्डारको अभावले किसानले उचित मूल्य पाउन सकेका छैनन्। बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनका किसान उज्जल रावतका अनुसार स्याउ पाक्ने समयमा सडक अवरुद्ध हुँदा बारीबाट बोकेर बजारसम्म पुर्याउनुपर्ने बाध्यता छ। यसका कारण धेरै स्याउ बारीमै खेर जाने गरेको छ।
सडक सञ्चालन भएपछि पनि लामो दूरी, महँगो ढुवानी खर्च र असहज सडकका कारण धनगढी तथा नेपालगञ्जसम्म स्याउ पुर्याउँदा किसानले अपेक्षित मूल्य पाउन सकेका छैनन्। उत्पादित स्याउ भण्डारण गरेर अर्को सिजनसम्म बिक्री गर्न सकिने चिस्यान केन्द्रसमेत जिल्लामा छैन।
व्यावसायिक स्याउखेती विस्तारमा जोड
स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले स्याउखेतीलाई व्यावसायिक बनाउन स्थानीय तह र कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए।
किसानलाई स्याउका बिरुवा वितरण, प्राविधिक परामर्श, खेती व्यवस्थापनसम्बन्धी जानकारी तथा उत्पादनको बजारीकरणमा सहयोग गर्ने कार्यक्रमले स्याउखेतीप्रति आकर्षण बढाएको उनको भनाइ छ।
उनका अनुसार सडक स्तरोन्नति, सहज यातायात, नियमित ढुवानी सेवा, शीतभण्डार निर्माण र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सके बाजुराको स्याउखेतीले जिल्लाको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ।
उत्पादन बढ्दै गए पनि उचित बजार र मूल्यको अभाव बाजुराका स्याउ किसानको मुख्य चुनौती बनेको छ। त्यसैले उत्पादनसँगै भण्डारण, ढुवानी र बजारीकरणको व्यवस्था सुधार गर्न सके मात्रै स्याउखेतीबाट किसानले अपेक्षित आम्दानी लिन सक्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस