बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले आज साउन २२ गते निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम तान्न लागेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पछिल्लो समय लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरका आधारमा हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
यस निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकका अनुसार यो एक महिने निक्षेप संकलन उपकरण हो, जसको साँवा तथा ब्याज आगामी भदौ २२ गते भुक्तानी गरिनेछ।
बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा निक्षेप बढ्दै गएको र तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बजारबाट पैसा तान्ने क्रम बढाएको हो।
प्रतिक्रिया दिनुहोस