माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। पाँडेले साउन २९ गतेदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हालेका हुन्।
बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक र कुमारी बैंकलगायत वित्तीय संस्थामा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।
पाँडेले बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा प्रथम श्रेणीमा एमबीए तथा अलिगढ मुस्लिम विश्वविद्यालयबाट विद्युत् इन्जिनियरिङमा सम्मानसहित बीटेक उपाधि हासिल गरेका छन्।
उनको व्यावसायिक अनुभव योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार बैंकिङ, साना तथा मझौला एवं खुद्रा बैंकिङ, व्यवसाय रूपान्तरण, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन, अनुपालन, व्यापार वित्त तथा कारोबार बैंकिङलगायतका क्षेत्रमा रहेको बैंकले जनाएको छ।
त्यसैगरी, मर्जर तथा एक्विजिसन, संस्थागत एकीकरण, वित्तीय विश्लेषण, उत्पादन विकास तथा दिगो एवं हरित बैंकिङका क्षेत्रमा समेत पाँडेले काम गरिसकेका छन्।
बैंकले पाँडेको लामो बैंकिङ अनुभव, नेतृत्व क्षमता र नतिजामुखी कार्यशैलीबाट व्यवसाय विस्तार, सेवा प्रवाहको प्रभावकारिता तथा बैंकका रणनीतिक लक्ष्य कार्यान्वयनमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस