चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता उल्लेख्य रूपमा घटेको छ। उद्योग विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्ष वैदेशिक लगानी प्रतिबद्धता करिब ८४ प्रतिशतले घटेको हो।
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएकोमा चालु आर्थिक वर्षको साउनमा ३ अर्ब ७७ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ। अर्थात्, अघिल्लो वर्षको तुलनामा २० अर्ब ३३ करोड २१ लाख रुपैयाँभन्दा बढीले लगानी प्रतिबद्धता घटेको हो। अघिल्लो वर्ष एउटै परियोजनामा मात्रै करिब २० अर्ब रुपैयाँको लगानी स्वीकृत भएको थियो। तर, लगानी प्रतिबद्धता घटे पनि स्वीकृत उद्योगको संख्या भने बढेको छ। गत वर्ष साउनमा १२७ वटा उद्योग स्वीकृत भएकोमा चालु आर्थिक वर्षको साउनमा १९१ वटा उद्योग स्वीकृत भएका छन्।
विशेषगरी स्वचालित प्रक्रियाबाट लगानी स्वीकृति लिने उद्योगको संख्या उल्लेख्य बढेको छ। गत वर्ष ८१ वटा उद्योगले स्वचालित रुटबाट स्वीकृति लिएकोमा यस वर्ष यस्तो संख्या १८७ पुगेको छ। एप्रुभल रुटबाट स्वीकृति लिने उद्योग भने ४६ बाट घटेर चारवटामा सीमित भएका छन्।
लगानी प्रतिबद्धतासँगै प्रस्तावित रोजगारीको संख्या पनि घटेको छ। गत वर्षको साउनमा ८ हजार २६८ जनालाई रोजगारी दिने प्रस्ताव गरिएकोमा यस वर्ष १ हजार ७७३ जनाका लागि मात्रै रोजगारी प्रस्ताव गरिएको छ।
चालु आर्थिक वर्षको साउनमा स्वीकृत उद्योगमध्ये १८८ वटा साना उद्योग छन्। गत वर्ष साना उद्योगको संख्या १२५ थियो। यस वर्ष दुईवटा मझौला उद्योग स्वीकृत भएका छन् भने ठूला उद्योगको संख्या दुईबाट घटेर एउटामा आएको छ।
क्षेत्रगत रूपमा हेर्दा कृषि तथा वन क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा ठूलो दरले घटेको छ। गत वर्ष साउनमा यस क्षेत्रमा २० अर्ब ४ करोड ५५ लाख रुपैयाँ प्रतिबद्धता आएकोमा यस वर्ष २ करोड रुपैयाँमा सीमित भएको छ। पर्यटन क्षेत्रमा पनि लगानी प्रतिबद्धता घटेको छ। गत वर्ष ३ अर्ब २ करोड रुपैयाँ रहेको प्रतिबद्धता यस वर्ष १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँमा झरेको छ।
यता उत्पादनमूलक क्षेत्रमा भने लगानी प्रतिबद्धता बढेको छ। गत वर्ष १५ करोड ५० लाख रुपैयाँ रहेको प्रतिबद्धता यस वर्ष बढेर ८४ करोड ३२ लाख रुपैयाँ पुगेको छ। सेवा क्षेत्रमा ३३ करोड ५० लाखबाट बढेर ६८ करोड २० लाख रुपैयाँ तथा सूचना प्रविधि क्षेत्रमा ३६ करोड ५२ लाखबाट बढेर ५६ करोड ९८ लाख रुपैयाँ पुगेको छ। विदेशी लगानीकर्ताका लागि बिजनेस भिसा सिफारिसको संख्या भने उल्लेख्य घटेको छ। गत वर्ष साउनमा १९४ वटा सिफारिस भएकोमा यस वर्ष ५० वटामा सीमित भएको छ।
त्यसैगरी, विदेशी लगानीबाट हुने लाभांश फिर्ता चालु आर्थिक वर्षको साउनमा शून्य रहेको छ। गत वर्षको सोही महिनामा २ अर्ब ९० करोड ७७ लाख ८९ हजार रुपैयाँ लाभांश बाहिरिएको थियो। तर, रोयल्टीबापत बाहिरिएको रकम भने बढेको छ। गत वर्ष १८ करोड ४० लाख रुपैयाँ रहेको रोयल्टी यस वर्ष बढेर २४ करोड २१ लाख रुपैयाँ पुगेको छ। यस वर्ष सेवा शुल्कबापत पनि १ करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ।
प्रतिक्रिया दिनुहोस