३५० रुपैयाँको सामान खरिद गरेर कर बिजक लिएका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट सामान खरिद गरी कर बिजक लिएका ती उपभोक्ता आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक बम्पर पुरस्कारका लागि छनोट भएका हुन्।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायको उपस्थितिमा बम्पर पुरस्कार विजेताको घोषणा गरिएको हो।
विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्म नियमअनुसार कारोबार गरी कर बिजक लिएका उपभोक्तालाई उक्त अवधिको पुरस्कार कार्यक्रममा सहभागी गराइएको थियो। कार्यक्रम सुरु भएको पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्या उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ।
साउन १६ देखि ३१ गतेसम्म मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल पुरस्कारका लागि दर्ता भएका थिए। कर बिजक लिने बानीको विकास गराउँदै नियमित तथा औपचारिक कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सामान्य मूल्यको वस्तु खरिद गर्दा प्राप्त हुने कर बिजकबाटै ठूलो रकमको पुरस्कार जित्न सकिने भएपछि कार्यक्रमले उपभोक्तालाई कर बिजक लिन थप प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। विभागले यसबाट कारोबारलाई औपचारिक प्रणालीमा ल्याउन तथा कर अनुपालन बढाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस