२०८३, भाद्र २ गते

उपसभामुख ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध जाहेरी, प्रहरीले गर्दैछ अध्ययन

सोमवार , भाद्र १, २०८३

प्रतिनिधिसभाकी उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन् । सोमबार प्रहरी परिसर पुगेर ठाकुरले जाहेरी दिएकी हुन् । यद्यपि, प्रहरीले भने जाहेरीमाथि अध्ययन भइरहेको र अहिलेसम्म दर्ता नभइसकेको जनाएको छ ।

ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले उपसभामुखबाट जाहेरी आएको पुष्टि गर्दै त्यसको अध्ययन भइरहेको जानकारी दिए । उनका अनुसार अध्ययनपछि जाहेरी दर्ता गर्ने वा नगर्ने विषयमा आवश्यक निर्णय हुनेछ ।

जनआस्थामा केही दिनअघि प्रकाशित सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक मर्यादामा असर पुर्‍याएको ठाकुरको दाबी छ । सोही सामग्रीलाई लिएर उनले श्रेष्ठमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएकी हुन् ।

ठाकुरले श्रेष्ठविरुद्ध जाहेरी दिएको दिनमै सर्वोच्च अदालतले भने श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएको छ । वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले हाजिर जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन परमादेश दिएको हो ।

यसअघि साउन २५ गते जनआस्था डटकममा सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री तस्बिरसहित प्रकाशित भएपछि श्रेष्ठ पक्राउ परेका थिए । उक्त सामग्रीलाई लिएर दिपिका सिंहले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता हननसम्बन्धी जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीका आधारमा अनुसन्धानका क्रममा पक्राउ परेका श्रेष्ठले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो ।

सर्वोच्चको आदेशसँगै श्रेष्ठ रिहा हुने प्रक्रिया अघि बढिरहँदा उपसभामुख ठाकुरले उनीविरुद्ध छुट्टै जाहेरी अघि बढाएकी हुन् । अब ललितपुर प्रहरीले ठाकुरको जाहेरीमा उल्लेखित विषय अध्ययन गरी कानुनी प्रक्रिया अघि बढाउने वा नबढाउने निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!