एथर नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५०० भन्दा बढी विद्युतीय स्कुटरको बुकिङ प्राप्त गरेको जनाएको छ। छ दिनसम्म चलेको एक्स्पोमा एथरका नयाँ स्कुटर, प्रविधि र ग्राहक सेवासम्बन्धी सुविधाप्रति ग्राहकको उत्साहजनक प्रतिक्रिया आएको कम्पनीले जनाएको हो।
वैद्यज् इनर्जी प्रालिअन्तर्गत नेपालमा सञ्चालन हुँदै आएको एथरले एक्स्पोमा प्राप्त बुकिङलाई विद्युतीय स्कुटरप्रतिको बढ्दो ग्राहक विश्वासको संकेतका रूपमा लिएको छ। कम्पनीका अनुसार ग्राहकको आकर्षण केवल प्रवद्र्धनात्मक योजनामा नभई ब्याट्रीको विश्वसनीयता, बिक्रीपछिको सेवा, चार्जिङ पूर्वाधार र प्रविधिमा केन्द्रित देखिएको छ।
एथरले नेपालमा ‘एथर एस्योरेन्स’ अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको जनाएको छ। लागू हुने सर्तअनुसार ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत कायम रहने सुनिश्चितता पनि यसमा समावेश छ।
कम्पनीका अनुसार नेपालभर १० भन्दा बढी आधिकारिक सेवा केन्द्र र ५० भन्दा बढी तीव्र चार्जिङ केन्द्र सञ्चालनमा छन्। विद्युतीय स्कुटर खरिदपछि पनि ग्राहकलाई सहज सेवा र चार्जिङ सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो पूर्वाधार विस्तार गरिएको कम्पनीको भनाइ छ।
नयाँ प्रविधिमा ग्राहकको चासो
एक्स्पोमा सार्वजनिक गरिएको एथर ४५० ओभरटोन सिरिज पनि आगन्तुकको आकर्षणको केन्द्र बनेको थियो। यस सिरिजमा रहेको ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनिट क्रुज’ र ‘भ्वाइस अन एथर’ जस्ता सुविधाप्रति ग्राहकको चासो देखिएको कम्पनीले जनाएको छ।
‘म्याजिक ट्विस्ट’ले थ्रोटलमार्फत पुनःऊर्जा संकलन हुने ब्रेकिङ नियन्त्रण गर्न, ‘इन्फिनिट क्रुज’ले लामो दूरीको यात्रा सहज बनाउन तथा ‘भ्वाइस अन एथर’ले आवाजमार्फत स्कुटरसँग अन्तर्क्रिया गर्न सहयोग गर्ने कम्पनीको दाबी छ।
एक्स्पोमा एथर ४५० सिरिज र रिज्टा परिवारका स्कुटरसमेत प्रदर्शन गरिएको थियो। कम्पनीले यी मोडललाई दैनिक सहरी आवागमनदेखि आराम र कार्यसम्पादनसम्मका फरक आवश्यकतालाई लक्षित विकल्पका रूपमा प्रस्तुत गरेको थियो।
एथर नेपालका अनुसार एक्स्पोमा प्राप्त ५०० भन्दा बढी बुकिङले नेपाली उपभोक्ता विद्युतीय स्कुटर खरिद गर्दा केवल सवारीसाधनको मूल्य र डिजाइनमा मात्र नभई ब्याट्रीको आयु, सेवा सञ्जाल, चार्जिङ पहुँच र प्रविधिसहितको सम्पूर्ण स्वामित्व अनुभवलाई महत्व दिन थालेको देखाएको छ।
प्रतिक्रिया दिनुहोस