कञ्चनपुरको पुनर्वासमा प्रहरीले मध्यराति ठूलो रकमको जुवा भइरहेको भनिएको स्थानमा छापा मारेर पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी टोली पुगेपछि जुवामा संलग्न अन्य व्यक्तिहरू भने भागेका छन्।
पुनर्वास नगरपालिका–१ पुरैनास्थित कच्ची सडकखण्डमा त्रिपाल ओछ्याएर जुवा भइरहेको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले राति करिब २ बजे छापा मारेको हो।
प्रहरीका अनुसार छापा मार्ने क्रममा पाँच जना पक्राउ परेका छन्। ठूलो संख्यामा रहेका अन्य जुवाडेहरू प्रहरी टोली आएको थाहा पाएपछि फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले पाँच जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका जगतबहादुर धामी, धनगढी उपमहानगरपालिका–४ का विक्रम विष्ट, धनगढी–१२ जुगेडाका प्रेमबहादुर सिंह, बझाङको बुंगल नगरपालिका–११ का कृष्ण बाहेरा र पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीका सुरेश तामाङ छन्।
प्रहरीले उनीहरूको साथबाट २० हजार ९१० रुपैयाँ नगद बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार जुवाखाल सञ्चालन भइरहेको स्थानबाट चार वटा कार, दुई वटा स्कुटर र नौ वटा मोटरसाइकल समेत फेला परेका छन्। प्रहरी टोली पुगेपछि जुवामा सहभागी अन्य व्यक्तिहरूले आफ्ना सवारीसाधनसमेत घटनास्थलमै छाडेर फरार भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र फरार व्यक्तिहरूको पहिचान तथा संलग्नताबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस