बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ। घटनामा एक मजदुर गम्भीर घाइते भएका छन्।
सोमबार बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खनिरहेको अवस्थामा माथिबाट अचानक माटोको ढिस्को खसेको प्रहरीले जनाएको छ।
ढिस्कोमा पुरिएर सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको हो। उनीहरू दुवैलाई ढिस्कोले पुरिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
सडक स्तरोन्नतिका क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस