तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ। आयोजनाका तीनवटै प्याकेजअन्तर्गतका मुख्य संरचनाको निर्माण अघि बढेसँगै आयोजना निर्माण अन्तिम चरणतर्फ उन्मुख भएको हो।
ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण भइरहेको आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध तथा हेडवक्र्स (Headworks), प्याकेज–२ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण र प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
बाँध निर्माणमा ६३ प्रतिशत प्रगति
प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको जिम्मेवारी सोङ्दा कालिका जेभीले पाएको छ। यो प्याकेजको भौतिक प्रगति ६३ प्रतिशत पुगेको छ। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध तथा दुईवटा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेका छन्।
आयोजनाको १४० मिटर अग्लो मुख्य बाँध निर्माणका लागि २०८१ चैत ७ गते पहिलो कङ्क्रिट राखेर काम सुरु गरिएको थियो। गत भदौमा मात्रै ३३ हजार ६८१ घनमिटर कङ्क्रिट राखिएको छ। हालसम्म बाँध निर्माणमा ५ लाख ७ हजार ४४२ घनमिटर कङ्क्रिट प्रयोग भइसकेको आयोजनाले जनाएको छ।
विद्युत्गृह र मुख्य सुरुङको काम अन्तिम चरणमा
प्याकेज–२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरण निर्माणको काम चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। यस प्याकेजको भौतिक प्रगति ७९ प्रतिशत पुगेको छ।
विद्युत्गृह, केबल सुरुङ, सर्च ट्याङ्क र टेलरेस लगायतका संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भइसकेको छ। जलाशयबाट पानीलाई विद्युत्गृहसम्म पुर्याउने मुख्य सुरुङमा भने कङ्क्रिट लाइनिङको काम भइरहेको छ। कुल १ हजार ४१८.७५ मिटर कङ्क्रिट लाइनिङ गर्नुपर्नेमा हालसम्म १ हजार ४०७.७५ मिटर सम्पन्न भएको छ। यसअनुसार मुख्य सुरुङको कङ्क्रिट लाइनिङको काम लगभग सम्पन्न हुने चरणमा पुगेको छ।
३३ किलोमिटर प्रसारण लाइनमा ८२ प्रतिशत काम
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न निर्माण भइरहेको प्याकेज–३ अन्तर्गतको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ। केइसी इन्टरनेसनल लिमिटेड, भारतले निर्माण गरिरहेको ३३ किलोमिटर लामो प्रसारण लाइनमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ। तीमध्ये ८३ वटा टावरको जग निर्माण सम्पन्न भइसकेको छ भने ८० वटा टावर खडा गरिसकिएको छ। चितवन र तनहुँका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रूख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणले थप गति लिएको आयोजना प्रमुख भण्डारीले बताए।
उत्पादन सुरु भएपछि थपिनेछ स्वदेशी विद्युत्
१४० मेगावाटको यो आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा थप विद्युत् उपलब्ध हुनेछ। आयोजनाका तीनवटै प्याकेजको प्रगति ७८ प्रतिशतको हाराहारीमा पुगिसकेकाले अब बाँध, विद्युत्गृह, मुख्य सुरुङ र प्रसारण लाइनका बाँकी कामलाई समयमै सम्पन्न गर्नु आयोजना व्यवस्थापनको मुख्य चुनौती हुनेछ।
विशेषगरी जलविद्युत् आयोजनामा उत्पादन सुरु गर्न उत्पादन संरचना मात्र पर्याप्त हुँदैन। बाँध, सुरुङ, विद्युत्गृह र प्रसारण लाइन एकैपटक सञ्चालनयोग्य हुनु आवश्यक हुन्छ। त्यसैले तनहुँ आयोजनाको बाँकी निर्माणसँगै प्रसारण संरचनाको समयमै तयारीले आयोजना कहिलेबाट राष्ट्रिय ग्रिडमा जोडिन्छ भन्ने निर्धारण गर्नेछ।
प्रतिक्रिया दिनुहोस