निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले नयाँ एटीआर–७२–६०० विमान नेपाल भित्र्याएको छ। कम्पनीका अनुसार आवश्यक नियामकीय तथा प्राविधिक प्रक्रिया पूरा गरेपछि विमानले आगामी महिनादेखि व्यावसायिक उडान सुरु गर्नेछ।
बुद्ध एयरले ९एन–एओएस कलसाइन भएको उक्त विमान फ्रान्सको तुलुसबाट नेपाल ल्याएको हो। नयाँ विमानमा पूर्ण डिजिटल ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट सिस्टम तथा उन्नत सुरक्षा प्रणाली जडान गरिएको कम्पनीले जनाएको छ।
एटीआर–७२–६०० सिरिजका विमान तुलनात्मक रूपमा कम इन्धन खपत गर्ने भएकाले वातावरणमैत्री मानिन्छन्। बुद्ध एयरले भित्र्याएको नयाँ विमानमा आरएनपी–एआर एप्रोच प्रणाली समेत जडान गरिएको छ।
कम्पनीका अनुसार उक्त प्रणालीको प्रयोगबाट काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर दृश्यता हुँदा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिनेछ। यसले विशेषगरी कम दृश्यताका कारण हुने उडान ढिलाइ र अवरोध घटाउन सहयोग पुग्ने बुद्ध एयरको विश्वास छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत आरएनपी–एआरमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ। उक्त प्रक्रिया लागू भएपछि करिब २ हजार मिटर दृश्यता रहेको अवस्थामा बुद्ध एयरको यस विमानबाट सुरक्षित उडान तथा अवतरण गर्न सकिने कम्पनीले जनाएको छ।
हाल इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) प्रक्रियाअनुसार पोखरा विमानस्थलमा अवतरणका लागि ३ हजार १०० मिटर तथा काठमाडौं र भैरहवा विमानस्थलका लागि १ हजार ६०० मिटर दृश्यता आवश्यक पर्ने कम्पनीले जनाएको छ।
नयाँ प्रविधियुक्त विमान सञ्चालनमा आएपछि कम दृश्यताका कारण हुने उडान अवरोध घट्नुका साथै हवाई सुरक्षा, सेवाको गुणस्तर र उडानको विश्वसनीयता बढ्ने बुद्ध एयरको अपेक्षा छ।
बुद्ध एयरले आगामी अगस्टको अन्तिमतिर थप एक एटीआर–७२–६०० विमान भित्र्याउने जनाएको छ। त्यसैगरी, आगामी केही महिनाभित्र सोही सिरिजका थप दुई विमान ल्याउने योजनाअनुसार प्रक्रिया अघि बढिरहेको कम्पनीले जनाएको छ।
बुद्ध एयरसँग हाल एक एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एक एटीआर–७२–६०० गरी कुल १७ वटा विमान रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस