२०८३, श्रावण २३ गते

साउनमा असुलिएको विद्युतको भ्याट भदौको बिलमा समायोजन हुने, असार मसान्तसम्म खपत भएको विद्युतमा भ्याट नलाग्ने

मंगलवार , श्रावण १२, २०८३

नेपाल विद्युत् प्राधिकरणले असार मसान्तसम्म खपत भएको विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। प्राधिकरणले साउन महिनाको विद्युत महसुलमा असुल गरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानीका रूपमा कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गर्ने जनाएको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ग्राहकले असार मसान्तसम्म खपत गरेको विद्युत्को बिलमा भ्याट जोडिएर भुक्तानी गरिसकेको भए उक्त रकम आगामी महिनाको बिलमा समायोजन हुने व्यवस्था गरिएको जनाएको हो। विद्युत् खपतका आधारमा मासिक रूपमा बिलिङ हुने भएकाले असार महिनामा खपत भएको विद्युतको बिल साउनमा जारी गर्दा भ्याट लाग्ने वा नलाग्ने विषयमा अन्योल देखिएको थियो। यही अन्योलका कारण प्राधिकरणले साउन ८ गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई पत्राचार गरी स्पष्टता मागेको थियो। आन्तरिक राजस्व विभागले सोमबार जारी गरेको सूचनामार्फत असार मसान्तसम्मको विद्युत उपभोग वा खपतको बिलिङमा भ्याट नलाग्ने स्पष्ट पारेपछि प्राधिकरणले पनि ग्राहकलाई भ्याटसम्बन्धी व्यवस्था स्पष्ट पारेको हो। आर्थिक ऐन, २०८३ ले साउन १ गतेदेखि विद्युत् सेवामा भ्याट लागू हुने व्यवस्था गरेको छ। विभागका अनुसार साउन १ गतेदेखि भएको विद्युत खपतमा न्यूनतम शुल्क तथा ‘डिमान्ड’ शुल्कमा समेत नियमानुसार भ्याट लाग्नेछ। विद्युत सेवा शुल्क पनि विद्युत सेवाकै अङ्ग भएकाले साउन १ गतेपछि भएको खपतमा भ्याट आकर्षित हुने विभागले स्पष्ट पारेको छ। मूल्य अभिवृद्धि करसम्बन्धी व्यवस्थाअनुसार अन्तिम उपभोक्ताका लागि ५ प्रतिशत र अन्य उपभोक्ताका लागि १३ प्रतिशत भ्याट लाग्नेछ। यसअघि प्राधिकरणले असार मसान्तसम्मको विद्युत खपतको बिलमा समेत भ्याट जोडेर उपभोक्तालाई पठाएपछि ग्राहकबाट गुनासो आएको थियो। उक्त विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले समेत चासो राख्दै समस्या समाधानका लागि पहल गरेका थिए। अब असार मसान्तसम्म खपत भएको विद्युतमा लाग्न नहुने भ्याट रकम भुक्तानी भइसकेको भए पनि ग्राहकको पैसा फिर्ता गर्नेभन्दा आगामी भदौ महिनाको विद्युत बिलमा अग्रिम भुक्तानीका रूपमा समायोजन गरिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!