२०८३, श्रावण २३ गते

माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)

बुधवार , श्रावण १३, २०८३

विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा बुधबार पनि सामूहिक आमरण अनशन जारी राखेका छन्। लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिको नेतृत्वमा मंगलबारदेखि सुरु भएको अनशन बुधबार दोस्रो दिन पनि जारी रहेको हो। आन्दोलनकारीहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने माग गर्दै सरकारसमक्ष विभिन्न माग अघि सारेका छन्। उनीहरूले सर्वोच्च अदालतको परमादेशबमोजिम लघुवित्त पीडितका तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। समितिले जारी गरेको मागपत्रमा विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने तथा गरिब, मजदुर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋण उपलब्ध गराउनुपर्ने उल्लेख छ। त्यसैगरी, नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी तथा उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग पनि पीडितहरूले राखेका छन्। आन्दोलनरत पक्षले निजी बैंक तथा वित्तीय संस्थाको अन्त्य गरी मुलुकमा समाजवादी अर्थव्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन मागसमेत अघि सारेका छन्। माग पूरा नभएसम्म आन्दोलन र आमरण अनशनलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ। तस्बिर : अनुप प्रधान

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!