समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र पशुपति बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई बचत रकम फिर्ता गर्न सुरु गरेको छ। समितिले पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकता दिँदै रकम वितरण गरेको जनाएको छ।
समितिका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।
समितिले पहिलो चरणमा न्यून बचत भएका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको जानकारी दिएको छ। आगामी चरणमा बचत रकमको आकारका आधारमा वर्गीकरण गरी अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गरिने जनाएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली, सम्पत्ति व्यवस्थापन तथा अन्य स्रोतबाट प्राप्त रकमलाई प्रचलित कानुनबमोजिम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढाइनेछ।
लामो समयदेखि बचत फिर्ताको प्रतीक्षामा रहेका बचतकर्ताका लागि रकम वितरणको सुरुवातलाई सकारात्मक कदमका रूपमा हेरिएको छ। सरकारले समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन र ऋण असुलीलाई प्रभावकारी बनाउँदै थप बचतकर्तालाई चरणबद्ध रूपमा राहत उपलब्ध गराउने तयारी गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस