नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तानमा स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडिआई टोलीको नेतृत्वको जिम्मेवारी दिएको हो।
सन्दीप चार वर्षपछि नेपाली टोलीको कप्तानीमा फर्किएका हुन्। यसअघि सन् २०२२ मा ओडिआई कप्तान बनेका सन्दीपमाथि बलात्कारको आरोपमा मुद्दा परेपछि उनलाई कप्तानीबाट हटाइएको थियो। अब सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपाली टोलीको नेतृत्व गर्नेछन्।
सन्दीपको कप्तानीमा रहने नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्।
विश्वकप लिग–२ को खराब प्रदर्शनपछि कप्तान परिवर्तन
नेपालको आईसीसी विश्वकप लिग–२ मा कमजोर प्रदर्शनपछि क्यानले ओडिआई टोलीको नेतृत्व परिवर्तन गरेको हो। यससँगै रोहित पौडेलले ओडिआईसँगै टी–२० टोलीको कप्तानीसमेत गुमाएका छन्। क्यानले यसअघि नै दीपेन्द्रसिंह ऐरीलाई टी–२० टोलीको कप्तान नियुक्त गरिसकेको छ।
सन्दीपको पुनरागमनसँगै नेपाली ओडिआई टोलीले नयाँ नेतृत्व पाएको छ। अब उनको कप्तानीमा नेपालले आगामी एसीसी प्रिमियर कपमा कस्तो प्रदर्शन गर्छ भन्ने चासो बढेको छ।
प्रतिक्रिया दिनुहोस