नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आगामी कात्तिकमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको प्रतियोगिता कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन गर्ने मिति घोषणा गरेको हो।
क्यानले शनिबार साँझ जारी गरेको सूचनाअनुसार एनपीएल २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा प्रतियोगिताको मिति सार्वजनिक गरिएको हो। क्यानले यसअघि सार्वजनिक गरेको २०२६ को वार्षिक क्रिकेट क्यालेन्डरमा पनि एनपीएलको तेस्रो संस्करण अक्टोबर–नोभेम्बरमा आयोजना गर्ने उल्लेख गरेको थियो।
अक्सन सकियो, विदेशी खेलाडी भित्र्याउने तयारी
तेस्रो संस्करणको एनपीएलका लागि खेलाडी छनोट गर्न अक्सनसमेत सम्पन्न भइसकेको छ। अक्सनबाट नेपाली खेलाडी छनोट गरिसकेपछि सहभागी फ्रेन्चाइज टोलीहरू अहिले विदेशी खेलाडी अनुबन्ध गर्ने तयारीमा जुटेका छन्।
एनपीएलको तेस्रो संस्करणमा पनि अघिल्ला संस्करणमा सहभागी आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दै आएका छन्।
एनपीएलको पहिलो संस्करण २०२४ मा आयोजना भएको थियो भने दोस्रो संस्करण २०२५ मा सम्पन्न भएको थियो। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो।
तेस्रो संस्करणको मिति तय भएसँगै अब फ्रेन्चाइज टोलीहरू विदेशी खेलाडीको अनुबन्ध, टोली निर्माण र प्रतियोगिताको तयारीमा केन्द्रित हुनेछन्। एनपीएललाई नेपाली क्रिकेटको घरेलु संरचनासँगै व्यावसायिक खेलकुद उद्योगका रूपमा विकास गर्ने लक्ष्य क्यानले राख्दै आएको छ।
प्रतिक्रिया दिनुहोस